काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कम विद्युत उपभोग गर्नेलाई दिदै आएको छुटको सुविधा बढाएको छ । प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।
मंगलवार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए । अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । सोमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।
त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णयसमेत भएको छ । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेकोमा मंगलबारको बैठकले सो व्यवस्थामा समेत परिवर्तन गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।