Logo

निर्यात प्रवर्द्धनका लागि नेपालमा ‘एक्स्पोर्ट एम्बुलेन्स’ को अवधारणा, आगामी आवको बजेटमा समेट्ने तयारी

निर्यात प्रवर्द्धनका लागि नेपालमा ‘एक्स्पोर्ट एम्बुलेन्स’ को अवधारणा, आगामी आवको बजेटमा समेट्ने तयारी



काठमाडौं । सरकारले निर्यात व्यापार बढाउन र वैदेशिक व्यापारमा हुने अवरोधको न्यूनीकरण गर्न नेपालमा ‘एक्सपोर्ट एम्बुलेन्स’ लागू गर्ने तयारी शुरु गरेको छ । बंगलादेशी मोडलको उक्त ‘एक्सपोर्ट अन ड्युटी’ अर्थात एक्सपोर्ट एम्बुलेन्स नेपालमा पनि लागू गर्नेगरी पहिलो चरणको तयारी थालिएको हो ।

बंगलादेशको निर्यात उद्योगलाई सफल बनाउन त्यहाँको सरकारले विभिन्न नीतिहरू अवलम्बन गरेको छ, जसअन्तर्गत ‘एक्सपोर्ट एम्बुलेन्स’ मोडल एउटा प्रभावकारी नीति बनेको छ । यो मोडलअनुसार, निर्यात सामग्री ढुवानी गर्ने विशेष गाडीहरूलाई एम्बुलेन्स सरहको सुविधा दिइन्छ । अर्थात यस्ता गाडीहरुलाई जुनसुकै अवस्थामा पनि विनारोकतोक चलाउन सहज वातावरणको सिर्जना गरिएको छ । जसले गर्दा कुनै पनि अवरोध जस्तैः हड्ताल, नाकाबन्दी, वा अन्य भौतिक अवरोधका कारण निर्यात प्रक्रियामा ढिलाइ नहुने अवस्था छ ।

नेपालको निर्यात व्यापारमा भने कच्चा पदार्थको आयातको हकमा होस् या नेपालमा बनिसकेको वस्तु निर्यात गर्नेबेलामा होस् हरेक क्षेत्रमा यस्ता अवरोधहरु देखिनेगरेको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । नेपालको आर्थिक संरचना अझै पनि आयातमुखी छ । यहाँ निर्यातको तुलनामा आयातको मात्रा अत्यधिक छ । नेपाली उत्पादनहरू, विशेष गरी हस्तकला, तयारी पोशाक, कृषि उपज, तथा स्थानीय उद्यमहरूबाट उत्पादन गरिएका सामानहरू अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन संघर्ष गरिरहेका बेलामा यस्ता उत्पादनलाई समयमा विदेश पठाउन नसक्दा नेपाली व्यवसायीहरूलाई ठूलो आर्थिक नोक्सान बेहोर्नुपरेको निर्यात परिषद नेपालका कार्यकारी सदस्य अमिर बगाले बताउँछन् । उनले अहिले पनि ढुवानीका सवारीसाधनहरुलाई काठमाडौंको चक्रपथभित्रै कार्यालय समयमा चल्न नदिइने नियम रहेको बताए ।

सरकारले हरेक वर्ष निर्यात प्रवर्द्धन र सहजीकरणका लागि अनेक कामहरु गरेको बताइरहँदा पनि निर्यात गर्ने वस्तुको ढुवानीमा सहजीकरण नहुँदा उद्योगी व्यवसायी तथा निर्यातकर्ताले सँधै दुःख भोगिरहेको बगाले बताउँछन् । ‘सरकारले निर्यातलाई प्रोत्साहन गर्न चाहेकै हो भने अन्य धेरै कुराहरुमा सुधार गर्नु त पर्छ नै त्यसमा पनि बंगलादेशी मोडलको एक्सपोर्ट एम्बुलेन्स प्रणाली भित्र्याइयो भने हामीलाई धेरै सहज हुनेछ,’ उनले भने, ‘यसका लागि प्रथम चरणको छलफल अघि बढेकोमा हामी उत्साहित छौं ।’

यस्तै नेपाल गार्मेन्ट संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालको आयात निर्यातलाई मात्रै नभई समग्र औद्योगिक विकासका लागि एक्स्पोर्ट एम्बुलेन्स अपरिहार्य रहेको बताए । ‘व्यापार सहजीकरणसँगै सामान ढुवानीका गाडीहरुलाई एम्बुलेन्स सरह तोकेको अवस्थामा हालसम्म उद्योगी व्यवसायीले पाउँदै आएको दुःख घट्ने थियो,’ उनले भने, ‘सकेसम्म चाँडो यस्ता प्रणालीहरुलाई लागू गरेर नेपालको अर्थतन्त्रमा प्रमुख प्रभाव पार्ने वैदेशिक व्यापारमा सहजीकरण ल्याउन सकिन्छ ।

यस्तै परिषदकै अर्का कार्यकारी सदस्य प्रेमराज बरालले भने निर्यात सामग्री बोकेका गाडीहरुलाई स्थानीय तहहरु तथा प्रदेशहरुले ढाँटका नाममा सवारीसाधनबाट शुल्क असुलेपछि नेपालको वस्तु विदेशी बजारमा झन् महंगो भएको बताए । बंगलादेशको ‘एक्सपोर्ट एम्बुलेन्स’ मोडल विशेष गरी टेक्सटाइल उद्योगका लागि अत्यन्त प्रभावकारी सावित भएको छ । त्यहाँ हजारौं कारखानाहरू विश्वका विभिन्न मुलुकहरूमा रेडिमेड गार्मेन्ट तथा कपडा निर्यात गर्छन् । यदि कुनै राजनीतिक आन्दोलन, हड्ताल, वा अन्य अवरोधका कारण ढुवानी प्रभावित भयो भने, अन्तरराष्ट्रिय ग्राहकहरूले समयमै सामान नपाउँदा ठूलो सम्झौता रद्द हुन सक्छ । यस्तो समस्याबाट बच्न बंगलादेश सरकारले निर्यातका लागि छुट्टै ट्राफिक प्राथमिकता दिने नीति अवलम्बन गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले बताए । ‘बंगलादेशमा ‘इमरजेन्सी एक्सपोर्ट ड्युटी ट्रक’ को व्यवस्था गरिएको छ, जसअन्तर्गत कपडा ढुवानी गर्ने ट्रकहरूलाई विशेष चिन्ह दिइन्छ,’ उनले भने, ‘यी ट्रकहरूलाई ट्राफिक नियमहरूमा विशेष छुट दिइएको हुन्छ, जसका कारण सडकमा अवरोध हुँदा पनि निर्वाधरूपमा चल्न पाउँछन् ।’

नेपालको सन्दर्भमा धेरै समस्या रहेका र विशेष गरी, भन्सार प्रक्रियामा देखिने ढिलाइ, ढुवानीमा हुने अनावश्यक खर्च वृद्धि र ट्राफिक जामको समस्या नेपाली निर्यातकर्ताहरूका लागि ठूला चुनौती बनेका छन् । कतिपय अवस्थामा, नेपालबाट निर्यात गरिने सामग्री समयमै विदेश पठाउन नसक्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको विश्वसनीयता गुम्ने खतरा रहेको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् । यही कारणले गर्दा नेपालमा पनि बंगलादेशको मोडल लागू गर्न सकिन्छ कि भनेर उद्योगी व्यवसायीहरूसँग प्रथम चरणको छलफल गरेको उनले बताए । ‘हामीले अहिले यो प्रणाली लागू गर्न के गर्न सकिएला र कसरी लागू गर्नेभन्नेबारे प्रथम चरणको छलफल सुरु गरिसकेका छौं,’ उनले भने, ‘यस्ता छलफलबाट निस्केको निचोडपछि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमै यो बिषयलाई समेट्ने गरी काम गर्नेछौं ।’

उनले उद्योगी व्यवसायीको आग्रह र निर्यात प्रवर्द्धनका लागि भएपछि एक्स्पोर्ट एम्बुलेन्स प्रणाली लागू गर्नका लागि नीति नै बनाउने गरी तयारी गरिएको पनि बताए । नेपालमा यो मोडल लागू गर्नका लागि केही महत्वपूर्ण तयारी आवश्यक रहेको उनले बताए । उनले भने–‘पहिलो कुरा, सरकारले यसका लागि नीति तर्जुमा गर्नुपर्छ । यदि ‘एक्सपोर्ट एम्बुलेन्स’ जस्तो प्रणाली लागू गर्नुपर्ने हो भने, सरकारले विशेष गाडीहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ । ट्राफिक व्यवस्थापनमा सुधार ल्याउँदै निर्यात सामग्री ढुवानी गर्ने गाडीहरूका लागि विशेष लेन बनाउने वा अन्य प्रकारका सुविधाहरू उपलब्ध गराउने विषयमा गम्भीर छलफल गर्न आवश्यक छ ।’ नेपालमा हालसम्म निर्यात सामग्री ढुवानीका लागि यस्तो छुटको कुनै पनि व्यवस्था नरहेकाले निर्यातकर्ताहरूले अनावश्यक झन्झट व्यहोर्नु परिरहेको राणा बताउँछन् । ‘दोस्रो कुरा, भन्सार व्यवस्थापनलाई छिटोछरितो बनाउन आवश्यक छ । नेपालको भन्सार प्रक्रियामा अनावश्यक ढिलाइ हुने गरेको गुनासो निर्यातकर्ताहरूले वर्षौंदेखि गर्दै आएका छन् । कतिपय अवस्थामा, निर्यात गरिने सामग्री जाँच तथा प्रमाणिकरण गर्न लामो समय लाग्छ, जसले गर्दा समयमै सामान विदेश पठाउन समस्या हुन्छ ।’ यदि निर्यात सामग्री ढुवानीका लागि विशेष प्राथमिकता दिने नीति बनाइयो भने, यस्तो समस्या हट्न सक्ने कार्यकारी निर्देशक राणाले बताए ।

यस्तै नेपाल सरकारले उद्योगी व्यवसायीहरूसँग छलफल गरेर व्यावहारिक उपायहरू खोज्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । निर्यात प्रवर्द्धनका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रमहरू ल्याउने गरेको छ, तर तिनको कार्यान्वयन प्रभावकारी देखिँदैन । निर्यातका लागि विशेष गाडीहरूको व्यवस्था गर्ने, ट्राफिक व्यवस्थापन सुधार गर्ने, तथा भन्सार प्रक्रियालाई सहज बनाउने जस्ता सुधारका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा लागू गर्न सकेमा मात्र नेपालले बंगलादेशको मोडलबाट लाभ लिन सक्ने उद्योगी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This