काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मर्जरसम्बन्धी निर्देशिका पारित भएको छ । नेपाल धितोपत्र बोर्डको संचालक समिति बैंठकले उक्त निर्देशिका पारित गरेको हो ।
बोर्डले ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेसँगै उनीहरुलाई पुँजी पुर्याउन कठिन भएको थियो । बोर्डले २०७९ भदौमा ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । मौजुदा व्यवस्थाअनुसार २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ब्रोकर कम्पनीहरुको पुँजी वृद्धि गरी २० करोड रुपैयाँ पुर्याइएको छ । त्यसरी पुँजी बृद्धि गर्दा पुराना ब्रोकर कम्पनीहरुले पुर्याउन सक्ने अवस्था थिएन ।
निर्देशिका पारित भएसँगै दुईवटा ब्रोकरहरु एक आपसमा मर्जर हुन सक्नेछन् । हाल पुराना ब्रोकरहरु धेरैले नयाँ तोकिएको मापदण्ड अनुसार पुँजी पुर्याउन सकेका छैनन् । नयाँ लाइसेन्स पाएका ब्रोकरहरुले नयाँ व्यवस्थाअनुसार २० करोड रुपैयाँ नै पुँजी राखेपनि पुराना लाइसेन्स भएका धेरैजसो ब्रोकर कम्पनीको नयाँ व्यवस्था अनुसार चुक्ता पुँजी पुग्न सकेको छैन् ।
५० ओटा पुराना ब्रोकर कम्पनी रहेकोमा २२ वटाको मात्रै २० करोड चुक्ता पुँजी पुगेको छ । मर्जर निर्देशिका आएसँगै पुँजी पुर्याउन नसकेका कम्पनीहरु मर्जरमा गई ब्रोकर कम्पनीको संख्यासमेत घट्ने सम्बद्ध ब्रोकरहरु बताउँछन् । ‘अहिले मर्जर निर्देशिका नभएकै कारण ब्रोकरहरु एक आपसमा मर्ज हुन सकेका छैनन्,’ एक ब्रोकरले भने, ‘अब चुक्ता पुँजी नपुगेका ब्रोकरहरुले एक आपसमा मर्ज भई पुँजी पुर्याउन बाटो खुला भयो ।’