Logo

केबलकारमय बन्दै नेपाल : आठ महिनामा चार ठूला परियोजना दर्ता, अर्बौको लगानी

केबलकारमय बन्दै नेपाल : आठ महिनामा चार ठूला परियोजना दर्ता, अर्बौको लगानी



काठमाडौं । नेपाल पछिल्ला वर्षहरुमा केबलकारमय बन्दै गएको छ । सडक निर्माणका लागि असहज भौगोलिक अवस्था रहेका स्थानमा सहजै सेवा प्रदान गर्ने भएकाले केवलकार निकै उपयोगी माध्यमका रुपमा रहेको छ ।

नेपालजस्तो भौगोलिक जटिलतामा केबलकार सबैभन्दा सहज र उपयुक्त माध्यम भएकाले तथा केबलकारले पर्यटक आकर्षण बढाउने र लगानीबाट लाभ मिल्ने भएकाले लगानीकर्ताहरुले पनि केबलकारमा लगानी बढाउँदै गएका छन् । फलस्वरुप नेपालमा पछिल्लो समय विभिन्न स्थानहरुमा केबलकार निर्माणको लहर तीव्र हुँदै गएको तथ्यांकहरुले देखाउँछन् ।

नेपालमा चालु आर्थिक वर्षमा दर्ता भएका ठूला परियोजनाहरुमध्ये ४ परियोजना केबलकारसम्बन्धित नै रहेको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालमा ठूलो र स्वदेशी लगानीका ४१ परियोजना दर्ता भएका छन् । त्यसमध्ये ४ परियोजना भने केबलकारका छन् ।

यी हुन् नेपालमा चालु आवमै दर्ता भएका ४ केबलकार परियोजना

जालपादेवी केबलकार

उद्योग विभागमा हालै अर्थात २५ गतेमात्रै जालपादेवी केबलकार परियोजना दर्ता भएको छ । आइएमई समुहले कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण गर्न लागेको उक्त केबलकार यसअघि गएको पुष १३ मा परराष्ट्रमन्त्री डा. आरजु राणाले शिलन्यास गरिसकेकी छन् । कैलालीको चिसापानीदेखि राजकाँडासम्म ३.१ किलोमिटर लामो उक्त केबलकारको कुल लागत ५ अर्ब रुपैयाँ छ ।

केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक ६ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ । कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

केबलकार एण्ड रोपवे प्रालि

यस्तै अर्काे ठूलो लगानीको केबलकार परियोजना ‘केबलकार एण्ड रोपवे’ प्रालिले दर्ता गराएको हो । कम्पनीले काठमाडौंको कीर्तिपुर वडा नं ४ मा केबलकार निर्माण गर्नेगरी परियोजना विभागमा दर्ता गराएको हो । यसअघि यो कम्पनीले कालिन्चोक केबलकार, कुश्मा बलेवा केबलकार र भट्टेडाँडा–माँझखण्ड मटेरियल रोपवे बनाईसकेको छ ।

बडिमालिका केबलकार

नेपालमा चालु आर्थिक बर्षमै दर्ता भएको अर्काे ठूलो लगानीको केबलकार बडिमालिका केबलकार हो । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं ४ मा निर्माण हुनेगरी उक्त परियोजना अघि बढ्न लागेको हो । उक्त परियोजना ४ अर्ब ३० करोड ४६ लाख ७० हजार रुपैयाँ लगानीमा निर्माण गर्नेगरी बडीमालिका केबलकार प्रालिले विभागमा परियोजना दर्ता गरेको हो । यद्यपि उद्योग विभागमै यो परियोजना दर्ता भईसकेको भएपनि बडीमालिका नगरपालिकाले यस्तो परियोजना बन्ने कुरा अफवाहमात्रै भएको बताउँदै आएको छ । यो परियोजना उद्योग विभागमा चालु आर्थिक बर्षको साउन ६ गते नै दर्ता भएको हो ।

वन्डर्स एभरेष्ट केबलकार

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा १ अर्ब ४७ करोड ५४ लाख ८९ हजार रुपैयाँ लगानीमा वन्डर्स एभरेष्ट केबलकार बन्ने भएको छ । चालु आर्थिक बर्षको साउन ६ गते नै दर्ता भएको यो परियोजना काठमाडौं कमलादीमा ‘स्काई वाक भ्यु टावर’ निर्माण गरेको समुहले बनाउन लागेको हो । केबलकारको बेस स्टेसन र टपमा हाइ इन्ड रिसोर्टसमेत रहने जनाइएको छ । यसरी समग्रमा परियोजनाको कुल लागत करिब ६ अर्ब ५० करोड रुपैयाँ रहने जनाइएको छ । पासाङ लामु गाउँपालिका वडा नम्बर २ लुक्ला चौरीखर्कदेखि लुम्डिङ चेदिङमासम्म ४.८ किलोमिटर क्षेत्रमा केबलकार निर्माण हुने जनाइएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ ले ५० करोड माथिका उद्योगहरुलाई ठूला उद्योगको रुपमा उल्लेख गरेको छ । ऐनले ६ अर्बसम्मको लगानी उद्योग विभागले र ६ अर्बभन्दा माथिको लगानी ‘लगानी बोर्ड’ले स्वीकृत गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार चालु आवको फागुन २५ सम्म नेपालमा ४१ यस्ता परियोजना अर्थात ५० करोड माथि लगानी भएका परियोजना दर्ता भएका छन् । त्यसमध्ये यी ४ परियोजना पनि सोही वर्गमै परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This