काठमाडौं । सरकारले ठूलो महत्वकांक्षासहित धुमधामका साथ संचालनमा आएको चोभार सुक्खा बन्दरगाह हालसम्म उपलब्धिविहिन अवस्थामा छ । पछिल्लो समय बन्दरगाहमार्फत हुने आयातमा केहि सुधार देखिएपनि निर्यात भने शुन्य छ । संचालनमा आएको ३ बर्षपछि यो बन्दरगाहमार्फत हुने व्यापारमा भने सुधार आएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षको ८ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो बन्दरगाहमार्फत हुने आयात २० करोड रुपैयाँले बढेको हो । यद्यपि यो बन्दरगाहमार्फत अपेक्षित व्यापारको आँकडाभन्दा भने यो धेरै न्यून हो । २०७८ को चैतमा उद्घाटन गरिएको यो बन्दरगाहमार्फत बार्षिक साढे ३ अर्ब बढीको व्यापार गर्ने लक्ष्य लिइएको थियो ।
२ अर्ब १८ करोड ७२ लाख रुपैयाँ लागत अनुमान गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको यो बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको थियो । यसरी विदेशी ऋण लिएर निर्माण सम्पन्न गरिएको र धेरै वस्तु आयात हुने काठमाडौं उपत्यकाभित्रै यो बन्दरगाह भएपनि यसमार्फत अपेक्षित व्यापार भने हुन नसकेको देखिन्छ ।
चालु आर्थिक बर्षको पहिलो ८ महिनाको तथ्यांकअनुसार यो भन्सारबाट ८५ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको आयात व्यापार भएको छ । गत आर्थिक बर्षको यहि अवधिमा बन्दरगाहमार्फत ६५ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात व्यापार भएको थियो । तर, बन्दरगाह निर्माणयता यो बन्दरगाहमार्फत एक आर्थिक बर्षबाहेकका अन्य समयमा निर्यात भने शुन्य नै छ । उत्तर र दक्षिण नाका हुँदै काठमाडौं आउने कन्टेनरहरु सोझै चोभार सुक्खा बन्दरगाहमै जाँचपास गर्ने कुरा गरिएपनि काठमाडौं आउने धेरैजसो कन्टेनरहरु सिमा नाकाका भन्सार कार्यालयबाटै जाँचपास भएर आउने गरेका छन् ।
हाल काठमाडौंको चोभार सुक्खा बन्दरगाह धेरै आयात गर्ने नाकाको १८ औं स्थानमा छ । यो नाका संचालनमा आएको बर्ष ४ महिनामा यो नाकाबाट ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यसको पछिल्लो आर्थिक बर्ष यहाँबाट नाकाबाट ६४ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । उक्त बर्ष यो नाकाबाट १ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात पनि भएको थियो ।
निश्चित पूर्वाधारको निर्माण र जनशक्तिका बावजुद पनि यो नाका अधिकतम प्रयोग भईरहेको भएपनि व्यापारीहरुले आफुलाई पायक पर्ने नाका चयन गर्ने गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेल बताउँछन् । काठमाडौंका व्यापारीलाई पनि सिमानाकाबाट ल्याइएका कन्टेनर कलंकी हुँदै चोभार पुर्याएर पुनः काठमाडौं ल्याउन केहि अप्ठ्यारो छ । अझ यो विन्दुलाई काठमाडौं तराई फास्ट ट्रयाकसँग जोडेर हेरिएकाले फास्ट ट्रयाक नआउँदै यस्तो व्यापार हुनुपनि खुसीको बिषय भएको उनले बताए ।
‘अहिले फास्ट ट्रयाक निर्माणकै चरणमा छ, यसो हुँदा पनि झण्डै अर्ब बराबरको व्यापार हुनुलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘त्यहाँसम्मका लागि हामीले यसलाई दुई भागमा विभाजन गरी संचालन गरिरहेका छौं ।’ समितिले अहिले चोभार सुक्खा बन्दरगाहलाई भन्सार र आन्तरिक टर्मिनल गरी दुई भागमा विभाजन गरी संचालन गरिरहेको छ । जसमा भन्सार तर्फ जाँचपासका कामहरु हुन्छन् भने आन्तरिक टर्मिनलतर्फ गाडी पल्टी, पार्किङ, गोदाम, लेभलिङ, प्याकेजिङलगायतका लागि स्पेश दिने काम भईरहेको छ । तसर्थ अहिले भन्सारको मात्रै तथ्यांकले चोभारको संचालमा प्रश्न गर्न नहुने उनी बताउँछन् ।
यद्यपी समितिले हाल यो नाकाबाट भन्सार जाँचपासका कामहरु न्यून मात्रै हुनेभएपछि त्यहाँ भएको स्पेश उद्योगी व्यवसायीलाई दिने काम सुरु गरेको हो । यो बन्दरगाह बन्दै गरेको काठमाडौं–तराई फास्ट ट्र्याकलाई लक्षित गरी बनाईएकाले यसलाई पूर्ण रुपमा संचालनमा आउन अझै केहि समय लाग्ने उनी बताउँछन् । ‘हाल यहाँका गोदाम प्रयोगमा आएकका छन्, दैनिक केहि न केहि कन्टेनर पनि जाँचपास भईरहेकै छन्,’ उनले भने, ‘फास्ट ट्र्याक निर्माण भइसकेपछि यसले झन धेरै व्यापार पाउनेछ ।’
तर, नेपालमा सामान भित्रिने र बाहिरिने अन्य भन्सार नाकाको चापलाई मध्यनजर गर्दै चाप कम गर्न निर्माण गरिएको उक्त बन्दरगाहको उपयोगिता हाल खासै नभएको आयात निर्यातको तथ्यांकले देखाउँछ । भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर वीरगंज, भैरहवा, विराटनगर लगायतका भन्सारबाट जाँचपास हुने गरेका थिए । यसरी दैनिक भित्रिने कन्टेनर र सिमानाकाका भन्सार कार्यालयमा हुने चापका कारण कन्टेनर जाँचपास हुन समय लाग्ने गरेको छ । यिनै समस्याको समाधानका लागि सबैभन्दा बढी कन्टेनर आउने काठमाडौंमै बन्दरगाहको निर्माणमा सरकारले जोड दिएपनि व्यवसायीहरु भने यसमा आकर्षित हुन नसकेको तथ्यांकले देखाएको छ ।
चोभार सुक्खा बन्दरगाहसँगैका अन्य बन्दरगाहबाट भने औषतमा अर्बाैं बढीको वैदेशिक व्यापार हुने गरेको छ । २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहमा कोरोना कहरकै बीच पनि काम निरन्तर हुँदा २०७८ को असोजमै निर्माण सम्पन्न भएको थियो । २०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास भने ८ महिनापछि अर्थात सोही बर्षको माघमा मात्रै गरिएको थियो । त्यसअघि साउन ३० गते शिलान्यास गर्ने तयारी गरिएपनि स्थानीयको अवरोधका कारण शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो ।
यो बन्दरगाहा तातोपानीको बन्दरगाहजत्तिकै क्षमताको हो । यसमा ५ सयओटा कन्टेनर र ५ सय ट्रक पार्किङ गर्न सकिने गरी पार्किङ यार्ड, वेयर हाउस, भन्सार, बैंक तथा वित्तीय संस्थाका लागि र प्रशासनका लागि आवश्यक भवन, कन्टेनरसहितका ट्रकहरु भित्रिने र बाहिरिने ३ ओटा मुख्य द्वारलगायतको निर्माण गरिएको छ । सुक्खा बन्दरगाहको लागत अनुमान २ अर्ब १८ करोड ७२ लाख रुपैयाँ गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको थियो ।