काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब बढी राजस्व संकलन गरेको छ । विभिन्न भन्सार नाकाहरुबाट यस अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयातमार्फत उक्त राजस्व उठाइएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा यस अवधिमा विभिन्न २८ भन्सार नाकाहरुबाट ९६ प्रकारका वस्तुहरु आयात भएका छन् । यिनै ९६ प्रकारका वस्तुबाट भन्सार राजस्व संकलन भएको देखिन्छ ।
तर, यीमध्ये पनि चालु आवको फागुनसम्म संकलन भएको भन्सार राजस्वमध्ये प्रमुख १० वस्तुले कुल भन्सार राजस्वको करिव ७५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । यी १० वस्तुहरुको आयात पनि चालु आवको फागुनसम्म आयात भएको कुल परिमाणको झण्डै ६० प्रतिशत हुन आउँछ । अर्थात यी १० वस्तुहरु मात्रै यस अवधिसम्म ६ खर्ब ९९ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात भएका छन् भने नेपालबाट यस्ता वस्तुहरुको निर्यात पनि ७५ अर्ब ४७ करोड बढी छ । यसर्थ यी वस्तुहरु निर्यातभन्दा आयात बढी हुनेभएपछि नेपालको कुल व्यापारघाटामा पनि ६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेको देखिन्छ ।
चालु आवको फागुनसम्म नेपालले ९ खर्ब ८७ अर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ भने कुल निर्यात व्यापार १ खर्ब ५७ अर्ब पुर्याएको छ । यता राजस्वमा योगदान दिने मुख्य १० वस्तुको सूचीको पहिलो स्थानमा जैविक इन्धन रहेको देखिन्छ । डिजेल, पेट्रो, मट्टितेल, हवाईइन्धनलगायतका वस्तुहरु नेपालमा उच्च आयात भएपछि यसमार्फत नेपालले ८० अर्ब ५० करोड ६१ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । यस अवधिमा नेपालमा २ खर्ब ६ अर्ब अर्थात नेपालको कुल निर्यात व्यापारको तुलनामा झण्डै ५० अर्ब बढीको इन्धन आयात भएको छ ।
यस्तै भन्सार राजस्वमा योगदान दिने वस्तुको सूचीको दोस्रो स्थानमा सवारीसाधन र यसका पार्टपुर्जा छन् । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालले पछिल्लो ८ महिनामा ६२ अर्ब २७ करोड रुपैयाँ बराबरका यस्तो वस्तुहरु आयात गरी ४८ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै तेस्रो र चौथो स्थानमा क्रमशः फलाम तथा स्टिल र विद्युतीय उपकरणहरु रहेका छन् । यी वस्तुहरुमार्फत नेपालले ८ महिनामा १४ अर्ब ९५ करोड र १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको भन्सार राजस्व संकलन गरेका छन् ।
यस्तै यस अवधिमा भन्सार राजस्वमा योगदान गर्ने मुख्य वस्तुको पाँचौ, छैठो, सातौं र आठौं स्थानमा क्रमशः प्लास्टिक र त्यसका सामग्री, ठूला औद्योगिक उपकरणहरु, कच्चा खाने तेल र तयारी पोशाक र कपडा रहेका छन् । यस्तै यो सूचीको नवौं र दशौं स्थानमा क्रमशः तरकारीजन्य वस्तुहरु र खाने तेल रहेको छ । माथिका यी वस्तुहरुको आयात, निर्यात, व्यापारघाटा र भन्सार राजस्वमा उल्लेख्य योगदान गरेको देखिन्छ ।
यी वस्तुहरुमध्ये नेपालले उच्च निर्यात गरेर निर्यात व्यापारमा उल्लेख्य हिस्सा ओगटेको कच्चा खानेतेलको आयात र निर्यातको तथ्यांक असन्तुलित छ । अर्थात नेपालबाट उच्च निर्यात भईरहेको भनिएको यस्तो वस्तु आयात पनि उच्च हुँदा यसको निर्यातले खासै प्रभाव नपारेको देखिन्छ । चालु आवको ८ महिनामा नेपालबाट यस्तो वस्तु ५७ अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको छ । नेपालको निर्यात व्यापारमा सबैभन्दा ठुलो हिस्सा नै यसैको छ । तर, यसै समयमा विदेशबाट पनि यस्तो वस्तु ८३ अर्ब ९२ करोड बढीको आयात भएको देखिन्छ । तसर्थ नेपालबाट उल्लेख्य निर्यात भएपनि यसमार्फत नेपालले उल्टो २६ अर्ब ५ करोड रुपैयाँ व्यापारघाटा व्यहोर्नुपरेको छ ।