काठमाडौं । अवैध भेप प्रकरणमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको भाटभटेनी सुपरमार्केटले स्पष्ट पारेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा ट्रकबाट नियन्त्रणमा लिइएको अवैध भेप भाटभटेनीको रहेको बताएपछि अध्यक्ष मिनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’
भाटभटेनीले कर्पोरेट संस्थाको बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाको पछि नलाग्न पनि अनुरोध गरेको छ । पक्राउ परेका चालकलाई राज्यको निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन पनि अध्यक्ष गुरुङले माग गरेका छन् ।
