Logo

मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?

मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?



काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदैछ । बुधबार नेपाली बजारमासुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा बुधबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ । नयाँ रेकर्डसँगै प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्वमा अनिश्चितताको वातावरणका कारण आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सम्भावना छ । सुनको मूल्य बढ्नुको एउटा कारण भारत र चीनका केन्द्रीय बैंकहरूले हालै आफ्नो सुनको भण्डारमा उल्लेखनीय वृद्धि गर्नु हो । हेजको रूपमा सुनलाई सबैभन्दा सुरक्षित मानिन्छ । साथै, विश्वका धेरै देशहरूले अमेरिकी डलरमाथिको निर्भरता कम गर्न आफ्नो सुनको भण्डार बढाइरहेका छन् । भारतले विदेशमा राखिएको सुन पनि फिर्ता ल्याइरहेको छ ।

विश्वको सबैभन्दा धेरै सुनको भण्डार कुन देशमा छ ?

अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सुन भण्डार छ । विश्वको सबैभन्दा शक्तिशाली र सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशको कोषमा ८,१३३ टन सुन छ । संसारको कुनै पनि देशले यसमा प्रतिस्पर्धा गर्न सक्दैन । यो सूचीमा जर्मनी दोस्रो स्थानमा छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशसँग ३,३५२ टन सुन छ । इटाली तेस्रो नम्बरमा छ । यसको केन्द्रीय बैंकसँग २,४५२ टन सुन छ । यस सूचीमा फ्रान्स २,४३७ टन सुनसहित चौथो नम्बरमा छ । त्यसपछि रूससँग २,३४० टन सुन छ । युक्रेनमाथि आक्रमण हुनुअघि रुसले अन्य देशहरूसँग रहेको आफ्नो सुन भण्डार फिर्ता ल्याएको थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन यस सूचीमा छैटौं नम्बरमा छ । चीनसँग १,९४८ टन सुनको भण्डार छ । चीनले हालैका वर्षहरूमा आफ्नो सुनको भण्डार द्रुत गतिमा बढाएको छ । विश्वमा सबैभन्दा बढी सुनको खपत चीनमा हुन्छ । अर्को स्थानमा सानो युरोपेली देश स्विजरल्याण्ड १,०४० टन सुन छ । स्विट्जरल्याण्डको जनसंख्या लगभग ८९ लाख छ र यो देश सानो छ । तर, यसको सुन भण्डार भारत भन्दा ठूलो छ ।

यस सूचीमा भारत आठौं नम्बरमा छ र भारतसँग ८७८ टन सुनको भण्डार छ । भारतले हालै आफ्नो सुनको भण्डार द्रुत गतिमा बढाएको छ र जापानलाई पनि उछिनेको छ । चीनपछि भारतमा सुनको खपत सबैभन्दा बढी छ । विश्व सुन परिषद्का अनुसार भारतमा आम जनतासँग लगभग २५,००० टन सुन छ जुन विश्वमै सबैभन्दा बढी हो । जापानसँग ८४६ टन सुन छ । टर्कीले हालैका समयमा आफ्नो सुनको भण्डार द्रुत गतिमा बढाएको छ र उसँग ७१६ टन सुन छ । यसपछि नेदरल्याण्ड्स (६१२ टन), पोल्याण्ड (४४४ टन), ताइवान (४२३ टन), पोर्चुगल (३८२ टन) र उज्बेकिस्तान (३३८ टन) छन् ।

नेपालसँग कति सुन छ भन्ने वास्तविक तथ्यांक सार्वजनिक नभएको भएपनि नेपालको केन्द्रयि बैंक अर्थात नेपाल राष्ट्र बैंकसँग १० टनभन्दा बढी सुन रहेको स्रोतको जानकारीमा छ । यस्तो सुन राष्ट्र बैंकको ढुकुटीका साथै विदेशी मुलुकमा लगानी गरेर राखेको सुनसमेत हो ।

प्रतिक्रिया दिनुहोस्