Logo

तारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा

तारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा



काठमाडौं । काठमाडौंको कमलादीमा यही जुनदेखि विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । चेन होटल म्यारियटको तीन तारे फेयरफिल्ड हूँदै पाँचचारे म्यारियट होटल सफलतापूर्वक संचालन गरिरहेको एमएस ग्रुपले म्यारियटकै ३ तारे स्तरको चेन ‘मोक्सी’ सन् २०२५ को जुन महिनादेखि संचालनमा ल्याउन लागेको हो ।

हाल निर्माणको अन्तिम चरणमा पुगेको र अबको ३ महिनाभित्र होटल संचालनमा आउने एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । काठमाडौंको कमलादीमा रहेको उक्त होटलले विशेषगरी मध्ययस्तरका पर्यटकलाई आकर्षित गर्ने छ । पौने २ अर्ब रुपैयाँ लगानीमा बनेको सो होटलमा १०१ कोठा रहने छन् ।

कुल २ रोपनी क्षेत्रफालमा फैलिएको सो होटल १० तलाको हुनेछ । सो होटलमा सबैजसो डिलक्स रुम रहनेछन् । होटलले पर्यटकका लागि फरक–फरक स्वाद उपलब्ध गराउनका लागि ३ वटा रेष्टुराँ संचालनमा ल्याउन लागेको छ । होटलमा आधुनिक फिटनेश सेन्टरसहित स्वीमिङ पुल रहने छ । दरबारमार्गमा रहेको उक्त होटलको १० औं तलाबाट काठमाडौंको मनोरम दृश्य नियाल्दै कफी र मदिराको चुस्की लिन सकिने छ ।

रुफटपबाट मनोरम दृश्य हेर्दै मदिराको मज्जा लिन चाहनेहरुका लागि लक्षित गर्दै ठूलो म्युजिक बार राखिएको छ । साथैसँगै स्वीमिङ पुल रहेकाले त्यसले होटलमा आउने ग्राहकहरुलाई थप आकर्षित गर्ने छ । ‘हामीले ग्राहकलाई बढीभन्दा बढी मनोरञ्जन दिनका लागि रुफटपमा अत्याधुनिक म्युजिक बार बनाएका छौं,’ अध्यक्ष अग्रवालले भने, ‘काठमाडौंको भ्यु हेर्दै कफी र मदिराको चुस्की लिनेहरुमा लागि उक्त बार उपयुक्त स्थान बन्ने छ ।’ देशका मुख्य शहरहरुमा मेरियट ब्राण्डका होटल स्थापनाका लागि सम्झौता गरेको एमएस ग्रुपले काठमाडौंको कमलादीमा तेस्रो होटलको रुपमा मोक्सी संचालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्