काठमाडौं । स्वदेशी र विदेशी सहलगानीमा नेपालमा २० अर्ब लगानीको इन्भेष्टमेन्ट कम्पनी स्थापना हुने भएको छ । हालै नेपाली र विदेशी गरी ७ जना लगानीकर्ताले नेपालमा ठूलो लगानीको उक्त लगानी कम्पनी स्थापनाका लागि उद्योग विभागबाट स्वीकृति लिएका हुन् ।
कुल पुँजी २० अर्ब रुपैयाँ रहने यो कम्पनीले हालै विभागबाट१६ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी भित्र्याउनका लागि स्वीकृति लिएको विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले बताए । ‘फागुनको महिनामा उक्त ठूलो लगानीको परियोजना विभागमा दर्ता भएको हो,’ उनले भने, ‘नेपाली लगानीकर्ता पनि भएको उक्त परियोजनाले १६ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी भित्र्याउने गरी विभागबाट स्वीकृत पाएको हो ।’ यद्यपि विभागले नेपाली लगानीकर्ताहरुको नाम भने सार्वजनिक गरेको छैन । तर, यो परियोजनामा विदेशी लगानीकर्ता ३ जनामध्ये १ जना बुल्गेरियन, २ जना भारतीय र ४ जना नेपाली लगानीकर्ता रहेको ओलीले बिजखबरलाई बताए ।
‘सो कमपनीमा लगानीकर्ताको रुपमा २ जना भारतीय, एक जना बुल्गेरियन र ४ जना नेपाली लगानीकर्ता अगाडि देखिएका छन्,’ उनले भने, ‘उनीहरुले २० अर्ब रुपैयाँ लगानीको इन्भेष्टमेन्ट कम्पनीको नाममा उद्योग विभागमा परियोजना दर्ता गरेका छन् जसमध्ये हालसम्म १६ अर्ब ४० करोड रुपैयाँ लगानीका लागि स्वीकृति लिइसकेका छन् भने बाँकी रकम नेपाली लगानीकर्ताले नै लगानी गर्ने कुरा कुरा छ ।’ यो कम्पनीले पहिले इन्भेष्टमेन्ट उद्योगको रुपमा दर्ता गरेपनि विस्तारै अन्य क्षेत्रका १९ परियोजनामा लगानी गर्ने प्रस्ताव उद्योग विभागसामु गरेको छ । पहिलो चरणमा नेपालमा लगानी भित्र्याउने प्रस्ताव विभागबाट स्वीकृत भइसकेपश्चात परियोजना कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुन्छ । त्यसपश्चात भने अन्य परियोजनाहरु अघि बढाउनेगरी काम गर्ने योजना कम्पनीको रहेको देखिन्छ ।
उक्त इन्भेष्टमेन्ट कम्पनीले सेवा, पर्यटन, पूर्वाधार, कृषिलगायतका १९ परियोजनामा लगानी गर्ने प्रस्ताव विभागसामु राखेको पनि ओलीले बताए । खासगरी पछिल्लो समय नेपालमा साना लगानीका ठुलो संख्यामा परियोजनामा वैदेशिक लगानी प्रतिवद्धता आउने गरेपनि लगानी भने न्यून हुँदै आएको छ । पछिल्ला बर्षहरुमा हरेक महिनाजसो नेपालमा १ देखि ५ अर्ब लगानीका परियोजना मात्रै दर्ता हुने गरेकामा फागुनमा भने यही इन्भेष्टमेन्ट कम्पनीकै कारण एकै महिना १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा फागुनमा १९ परियोजनामार्फत अटोमेटिक रुट हुँदै १२ करोड ८६ लाख ४० हजार र रेगुलर रुटमार्फत १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी आएको छ । त्यसमध्ये १६ अर्ब ४० करोड रुपैयाँ यही एउटा कम्पनीको मात्रै छ ।