Logo

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने



काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार यस पटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उनले भने, ‘हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ ।’

त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उनले बताए । प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ । आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिन नै होली खेलिन्छ । नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।’

होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए । ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्