काठमाडौं । पूर्व अर्थमन्त्री तथा नपाली कांग्रेसका नेता डा रामशरण महतले आगामी दिनमा आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने बताए । ‘स्वदेशमै प्रशस्त रोजगारी सिर्जना हुनुपर्छ जसका लागि स्वदेशी तथा विदेशी लगानीलाई कसैले पनि रोक्ने चेष्टा गर्नुहुँदैन,’ उनले भने, ‘लगानी परिचालित नभै मुलुक र मुलुकबासीको उन्नति संभव छैन ।’ सबै राजनीतिक दलहरु आर्थिक विकासका लागि पूर्ण प्रतिवद्धताका साथ लागेमा छिटै नै समृद्धि हासिल गर्न सकिने उनको विश्वास थियो ।
डा. महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीति स्वीकार्य नहुने बताए । आफुहरुले २०४६ को परिवर्तनपछि नेपालको अर्थतन्त्रको आधुनिकीकरण गरेको र पूर्वाधारको जग बसाएको दावी गर्दै आज गाउँ गाउँमा सडक पुग्नु, शैक्षिक र स्वास्थ्य संस्थाको विकास, खानेपानीमा पहुँच, सञ्चार तथा उड्ड्यान क्षेत्रको विकास कांग्रेसको आर्थिक नीतिका कारणले भएको बताए ।
सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणको क्रममा कञ्चरपुर पुगेका नेता डा महतले बर्षौदेखि एकजुट भै मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम भइरहेको भन्दै यो विकृतिपूर्ण राजनीति भएको र यसलाई बढावा दिन नहुने उनको तर्क थियो । संसारमा सबैले मानेको राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था नै हो र यस व्यवस्थामा अहिले सबै राजनीतिक दलहरु उभिएका छन । पछिल्ला बर्षहरुमा नेपालमा भौगोलिक, सामाजिक, धार्मिक र जातीय ढंगले नेपालीलाई विभाजित गर्ने राजनीति शुरु भएको समेत उनको दावी छ । यसले जनतामा निराशा ल्याउने हुँदा अहिले नै सुधार हुनु आवश्यक भएको बताए ।
नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले पार्टीका सबैले गौरव गर्नुपर्ने बताए।
संगठन सुदृढिकरण अभियान अन्तर्गत कञ्चनपुर जिल्ला कांग्रेसले आयोजना गरेको सो कार्यक्रममा सभापति हरि बोहोरा, सांसद रामकृष्ण यादव, बहादुरसिंह थापा, चन्द्रा जोशी,पूर्व सांसद गंगादत्त जोशी, भोजराज बोहोरा, क्षितिज भण्डारी लगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।