काठमाडौं । नेपालमा फागुपूििर्णमा अर्थातहोली रंगको पर्वमात्रै नभएर पछिल्लो समय ठूलो व्यापारिक अवसरको रुपमा समेत विकास हुँदै गएको छ । फागुपूर्णिमाको पहाड र तराईमा गरी नेपालमा दुई दिन मनाईन्छ । यसरी मनाउने होलीमा रङ, पिचकारी, लोला, खाद्य सामग्रीलगायतका वस्तुहरुको व्यापार पनि उल्लेख्य हुने गरेको व्यापारीहरु बताउँदै आएका छन् ।
पछिल्ला वर्षहरूमा होलीका लागि आवश्यक सामग्रीहरूको माग पनि सोहीअनुसार बढ्दै गएको छ, जसका कारण वार्षिक रूपमा ५ देखि ७ अर्ब रुपैयाँ बराबरको होलीसम्बन्धित सामग्रीको मात्रै व्यापार हुने गरेको छ ।
नेपालमा होली मनाउनका लागि रंग, बेलुन, पिचकारी, लोला, पहेँलो अबिर, होली विशेष लुगा तथा खाद्य सामग्री जस्ता सामानहरू अत्यधिक मात्रामा खपत हुने गरेका छन् । यीमध्ये धेरैजसो सामान भारत तथा चीनबाट आयात गरिन्छ भने केही स्थानिय उत्पादनहरू पनि बजारमा उपलब्ध छन् ।
पछिल्लो तथ्यांकलाई आधार मान्दा पनि होलीलगायतका लागि आवश्यक रंग अबिर र अन्य कलरमात्रै २ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो तथ्यांक चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको हो । यस अवधिमा नेपालमा यस्तो रंग १४ हजार मेट्रिकटन आयात भएको देखिन्छ ।
यस अवधिमा नेपालले रङ आयातमार्फत मात्रै करिव ६८ करोड रुपैयाँ राजस्व आर्जन गरेको छ । यद्यपि नेपालमा कुल हालसम्म आयात भएको रङमध्ये होलीका लागि आवश्यक अर्थात पाउडर रङ मात्रै करिव ५०० देखि १००० मेट्रिक टन रंगको कारोबार हुने गरेको तथ्यांकमा देखिन्छ ।
पछिल्लो समय हर्बल तथा प्राकृतिक रंगहरूप्रति उपभोक्ताहरूको आकर्षण बढ्दै गइरहेको छ, जसका कारण बजारमा अर्गानिक रंगको बिक्री उल्लेखनीय रूपमा बढेको छ । त्यसैगरी, पिचकारी तथा लोलाको माग पनि अत्यधिक छ ।
होली पर्वले पर्यटन क्षेत्रमा पनि उल्लेखनीय प्रभाव पार्ने गरेको छ । विशेष गरी काठमाडौं, पोखरा, चितवन, जनकपुर र तराई क्षेत्रका शहरहरू होली मनाउनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । अन्तरराष्ट्रिय पर्यटकहरू समेत नेपालमा होली मनाउन आउने क्रम बढ्दै गएको छ, जसले होटल तथा रेष्टुरेन्ट व्यवसायमा आर्थिक चलायमान बनेको छ ।
नेपालमा होलीसम्बन्धी बजार बर्सेनि १५–२० प्रतिशतले वृद्धि भइरहेको भन्सार विभागले आयात गरेको वस्तु र यसको लोकप्रियताले देखाएको छ । यसबाहेक, सामग्रीहरूको गुणस्तर, स्वास्थ्य सुरक्षा, र प्लास्टिकजन्य उत्पादनहरूको प्रयोग नियन्त्रण गर्न सम्बन्धित निकायहरूले थप ध्यान दिँदै आएका पनि छन् ।