Logo

यी १० निर्माण कम्पनी परे कालोसूचीमा, १ देखि डेढ वर्षसम्म काम गर्न नपाउने

यी १० निर्माण कम्पनी परे कालोसूचीमा, १ देखि डेढ वर्षसम्म काम गर्न नपाउने



काठमाडौं । सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरि १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

कार्यालयले आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

मुख्य व्यक्ति गणेश तङनामी भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो ।

यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् ।

अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो ।

यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी।एस। निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जीएस निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपाल प्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमान सिंह लामा हुन् ।

यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्