Logo

अन्यौलमा नेपाली पर्यटन : पूर्वाधारमा उच्च लगानी, पर्यटक नहुँदा अस्वस्थ्य प्रतिस्पर्धाले ‘सस्तो गन्तव्य’ मा परिणत हुँदै

अन्यौलमा नेपाली पर्यटन : पूर्वाधारमा उच्च लगानी, पर्यटक नहुँदा अस्वस्थ्य प्रतिस्पर्धाले ‘सस्तो गन्तव्य’ मा परिणत हुँदै



काठमाडौं । पर्यटन व्यवसायमा लामो समय व्यतित गरेका र ठूलो लगानी गरिरहेका व्यवसायीको भनाईलाई मान्ने हो भने पछिल्लो समय नेपाली पर्यटन क्षेत्र अन्यौलग्रस्त अवस्थामा पुगेको छ । व्यवसायीका अनुसार नेपाली पर्यटन क्षेत्र अहिले असन्तुलित अवस्थामा पुगेको छ । एकातिर, साना देखि अर्बौ रुपैयाँ लगानीका पाँचतारे होटलहरू धमाधम खुलिरहेका छन् भने अर्कोतिर, पर्यटकको आगमन दर अपेक्षित रूपमा बढ्न सकेको छैन ।

उद्योग विभागको तथ्यांकलाई आधार मान्दा स्वदेशी लगानी होस या विदेशी दुबैको प्राथमिकतामा सेवा र पर्यटन क्षेत्र छ । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्यांकलाई आधार मान्दा पनि नेपालमा कुल ३ सय ८६ परियोजना दर्ता भएकामा पर्यटन क्षेत्रका १ सय ६८ र सेवा क्षेत्रका ४८ परियोजना दर्ता भएका छन् । यता स्वदेशी लगानीको अवस्था पनि त्यस्तै छ । यसरी हेर्दा पछिल्लो महिनासम्म नेपालमा होटलको क्षमता मात्रै करिव ३५ लाख पर्यटक अट्नेसम्म विस्तार भइसकेको छ र अझै विस्तारको निरन्तरता छ । अझै विदेशी चेन होटलहरुको नेपालमा सेवा विस्तार पनि तीव्ररुपमा भइरहेको छ ।

तर, यसै अवधिमा नेपालमा पर्यटकको आवागमन भने यहाँको सेवा क्षेत्रको क्षमताअनुसार नरहेको तथ्यांकहरुले देखाउँछन् । होटल संघ नेपाल (हान) का अनुसार, पछिल्लो १० वर्षमा नेपालमा ४ सय बढी नयाँ होटल थपिएका छन् । चालु आवकै पुससम्म नेपालमा पर्यटकस्तरीय होटल तथा लजहरुको संख्या १ हजार ६ सयमाथि पुगेको छ । नेपालका प्रमुख सहरहरू, विशेषगरी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भक्तपुर, बाँके, इलाम, जनकपुर र अन्य पर्यटकीय केन्द्रहरूमा होटलहरूको संख्या तीव्र रूपमा वृद्धि भएको छ । यी होटलहरूमा करिब दैनिक ६० हजार बेड उपलब्ध छन्, जसले वार्षिक रूपमा ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्छन । आगामी दुई वर्षभित्र होटलहरूको कुल क्षमता ३० लाख पुग्ने अनुमान गरिएको छ । तर, नेपालमा वार्षिक रूपमा आउने पर्यटकको संख्या हाल करिब १२ लाख हाराहारीमै सीमित छ ।

सरकारले पर्यटन आवागमन संख्या बढाउनका लागि सन २०२० लाई पर्यटन बर्षका रुपमा घोषणा पनि गरेको थियो । तर, सन २०१९ को डिसेम्बरदेखि विश्वभर कोरोना महामारी फैलिएपछि सरकारको योजना बीचमै तुहियो । कोरोनाकै कारण पर्यटक घटेर हजारमा सीमित भने समग्र पर्यटन क्षेत्र संकटग्रस्त अवस्था पुग्यो । कोरोना महामारीपछि पर्यटकको संख्या क्रमश बढिरहेपनि वार्षिक १२ लाख नाघ्न नसकेको अवस्था छ ।

यसरी होटल खुल्ने क्रम बढ्दै गएको र पर्यटन आवागमन भने लामो समयदेखि स्थिर हुँदा होटल तथा पर्यटन व्यवसायीहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको हानका अध्यक्ष विनायक शाह बताउँछन् । यसैका कारण होटलहरू न्यून शुल्कमा कोठा भाडामा दिन बाध्य भएका छन् । पछिल्लो एक दशकमा नेपालमा होटलहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । पाँचतारे होटलहरूदेखि बुटिक रिसोर्टहरू, मिड–रेन्ज होटलहरू तथा गेस्ट हाउसहरू समेतको संख्या उल्लेख्य रूपमा बढेको छ ।

नेपालमा पर्यटन क्षेत्रको विस्तारले होटल व्यवसायीहरूलाई सहज हुने अपेक्षा गरिएको थियो । तर, होटलहरूको संख्या तीव्र गतिमा बढ्दै गएपनि पर्यटक आगमन दर भने सोही अनुपातमा वृद्धि हुन नसक्दा होटल व्यवसायीहरू अस्वस्थ्य प्रतिस्पर्धामा फसेको शाह बताउँछन् । ‘एकातिर नयाँ होटलहरू खुलिरहेका छन् भने अर्कोतिर, होटलहरूमा पर्यटकको उपस्थिति न्यून रहँदा ग्राहक तान्ने होडबाजीले होटल व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ । होटल व्यवसायीहरूले ग्राहक तान्नका लागि विभिन्न छुट, सहुलियत तथा अफरहरू दिइरहेका छन् । ग्राहक तान्ने क्रममा होटलहरूले आफ्नो सेवा शुल्कमा कटौती गर्न बाध्य भएका छन्, जसका कारण उनीहरू नाफा कमाउन असमर्थ भइरहेका छन्’, अध्यक्ष शाह बताउँछन् ।

नेपाल आउने पर्यटकहरूको प्रवृत्ति पछिल्ला वर्षहरूमा धेरै बदलिएको व्यवसायी बताउँछन् । विशेष गरी चिनियाँ पर्यटकहरूको अत्यधिक बार्गेनिङ गर्ने प्रवृत्तिले नेपाली पर्यटन व्यवसायमा थप समस्या सिर्जना गरिरहेको एक व्यवसायीले बताए । ‘चिनियाँ पर्यटकहरूले होटल तथा ट्राभल कम्पनीहरूसँग अत्यधिक बार्गेनिङ गर्दै न्यूनतम मूल्यमा सेवा खोज्ने गरेका छन् । सामान्य अवस्थामा पाँचतारे होटलहरूले १५० अमेरिकी डलर पर्ने कोठाहरू चिनियाँ पर्यटकहरूले ४० देखि ५० डलरमै बुक गर्न खोज्ने गरेका छन् । उनीहरूको यस्तै बार्गेनिङ प्रवृत्तिका कारण होटल तथा ट्राभल कम्पनीहरू आर्थिक रूपमा मारमा परिरहेका छन्’, ती व्यवसायीले बताए ।

ट्राभल कम्पनीहरू पनि यस्तै समस्याबाट गुज्रिरहेका छन् । नेपाल भ्रमणका लागि आउने धेरै पर्यटकले विदेशमै सस्तो प्याकेज बुक गरेर आउने गरेका छन् । यसले गर्दा नेपालका ट्राभल कम्पनीहरूले प्रत्यक्ष रूपमा फाइदा लिन नसकिरहेको ट्राभल एण्ड टुर्स एशोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष कर्मा शेर्पा बताउँछन् । ‘धेरैजसो देशमा पछिल्लो समय नेपाल चिप डेस्टिनेशन (सस्तो गन्तव्य)का रुपमा परिचित हुँदै गएको छ । नेपालभित्रै कम्पनी कम्पनीहरुबीच भएको अस्वस्थ प्रतिश्पर्धाका कारण पर्यटकहरुलाई नेपाली कम्पनीहरुले नै तानातान गर्दा मूल्य सस्तिदै गएको छ । यसैका फाईदा उठाउँदै विदेशी पर्यटकहरु आफ्नै देशमै प्याकेज खरिद गर्ने वा कतिपय प्याकेजै खरिद नगरी र कतिपय नेपाली कम्पनीबाट प्याकेज खरिद गरेपनि प्रतिस्पर्धाका कारण सकेसम्म कम मूल्यबाट बार्गेनिङ सुरु गर्ने गरेको अवस्था छ’, उनले बताए । ‘नेपालकै छिमेकी र उस्तै अर्थतन्त्र भएको भुटान अहिले एक्पेन्सिभ डेस्टिनेशन (महंगो गन्तव्य)का रुपमा परिचित हुँदै गएको छ,’ उनले भने, ‘तर, नेपालको आन्तरिक अवस्था र नियमनकै कारण लगातार बढिरहेको अस्वस्थ प्रतिस्पर्धाले हामीलाई खतराको बाटोतर्फ धकेल्दैछ ।’

नेपालमा पर्यटन ऐन २०३५ नै हालसम्म लागू भएको र धेरैजसो निर्देशिका, नियमावलीहरु, कार्यविधिलगायत पनि पुराना हुँदै गएकाले नयाँ पन दिनुपर्ने उनी बताउँछन् । ‘नेपालको पर्यटन क्षेत्र उही पुरानै २०३५ सालको ऐनमा चलिरहेको छ, यस्तो हुँदा यसमा नयाँपन भएन पर्यटन प्रवर्द्धनका लागि खासै ध्यान दिने बिषयहरु समावेश गरिएन,’ उनले भने, ‘अब समयानुकुल कानूनहरु परिवर्तन गर्दै नेपालमा पर्यटक जतिसक्दो धेरै र गुणस्तरीय भित्र्याउने प्रयास गर्नुपर्छ ।’ उनका अनुसार पर्यटन आवागमन कम र गल्लीपिच्छे ट्राभल कम्पनीहरु हुँदा नेपालमा पर्यटनबाट सकारात्मक लाभ घट्दै गएको छ ।

पर्यटकहरूले नेपाल भ्रमण गर्दा स्थानीय ट्राभल एजेन्सीहरूलाई प्रयोग गर्ने सट्टा, आफ्नै देशबाट बुक गरिएको प्याकेजमा भर पर्न थालेका छन् । साथै, कतिपय पर्यटकहरू आफ्नै गाइड लिएर नेपाल आउने गर्छन् भने केही पर्यटकहरू त गाइड नै नल्याएर आफैं नेपाल घुम्ने प्रवृत्ति छ । नेपाल सानो मुलुक भएकाले उनीहरू आफैं काठमाडौं, पोखरा, लुम्बिनी जस्ता मुख्य पर्यटकीय गन्तव्यहरू घुम्न सक्ने स्थिति छ । यसले गर्दा नेपाली ट्राभल एजेन्सी तथा गाइडहरू बेरोजगार बन्न थालेका छन् ।

असहज पूर्वाधार

नेपालको पर्यटन व्यवसायको अर्को ठूलो समस्या भनेकै पूर्वाधार हो । नेपालमा पर्यटनको मुख्य आधार सडक तथा हवाई पूर्वाधार हो, तर यी पूर्वाधारहरूको विकास सुस्त गतिमा भइरहेको छ । काठमाडौंबाट पोखरा वा लुम्बिनी जाने पर्यटकहरूले सडकको दयनीय अवस्थाका कारण सास्ती खेप्नुपरेको हानका अध्यक्ष शाह बताउँछन् । ‘नारायणगढ–बुटवल, मुग्लिन–पोखरालगायतका सडकहरू अहिले स्तरोन्नतिको प्रक्रियामा छन्,’ उनले भने, ‘तर, ती पूरा नभएसम्म नेपाल आउने पर्यटकहरूले यात्रा सहज महसुस गर्न सक्ने अवस्था छैन ।’ हवाई यातायातको अवस्था पनि सन्तोषजनक नरहेको बताउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार भएको हुँदा पर्यटकहरूले लामो लाइन, ढिलो सेवा, र उडान स्थगनजस्ता समस्याहरू भोग्नुपरेको बताए ।

नेपाल सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहलहरू गरिरहेको छ । नेपाल भ्रमण दशक घोषणा भइसकेको छ, जसले आगामी वर्षहरूमा पर्यटक आगमन वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको उनको भनाई छ । नेपालले साहसिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन तथा स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसार गर्ने प्रयास गरिरहेको छ । तर, यी योजनाहरू सफल बनाउन नेपाल सरकार, निजी क्षेत्र र स्थानीय तह बीच समन्वय आवश्यक रहेको शाहले बिजखबरलाई बताए । यदि यी समस्याहरूलाई सम्बोधन गर्न सकिएन भने नेपालका होटल तथा पर्यटन व्यवसायीहरू थप आर्थिक संकटमा फस्ने सम्भावना रहने व्यवसायी बताउँछन् । ‘नेपालमा होटलहरूको संख्या बढ्दै जाँदा र पर्यटकहरूको संख्या कम हुँदै गएमा होटल व्यवसायीहरूका लागि निरन्तर लगानी फिर्ता गर्न कठिन हुने देखिन्छ’, व्यवसायी भन्छन ।

प्रतिक्रिया दिनुहोस्