काठमाडौं । पछिल्लो माग संकुचन आउँदा आयातमा गिरावट आई विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स क्रमिक रुपमा बढ्दै गएको तर उपभोक्ता नुहँदा आयातमा गिरावट आउँदा विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको अर्थविद्हरु बताउँछन् ।
‘नेपालले खाद्यान्न, लताकपडा तथा मेशिनरी सामान आयातमा विदेशी मुद्रा खर्च गर्ने हो,’ ती अर्थविद्ले भने, ‘तर अहिले देशको आर्थिक स्थिती चलायमान नहुँदा मेशिनरी उपकरण आयातमा गिरावट आएको छ भने अध्ययन र वैदेशिक रोजगारीमा जाने ट्रेण्ड उच्च रुपमा रहेकाले खाद्यान्न समेत खपत हुन छाडेको छ ।’
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकध अनुसार विदेशी मुद्रा संञ्चिती १६.१ प्रतिशतले बढ्दै माघ मसान्तसम्ममा २३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । जबकि २०८१ असार मसान्तमा कुल विदेशी मुद्रा संञ्चिती २० खर्ब ४१ अर्ब रुपैयाँ मात्र रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ५ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्थामा २ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
यसैगरी सो अबधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खबए ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।