काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा नेपालमा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको साउनदेखि माघसम्म नेपालमा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आएको हो ।
यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । अघिल्ला दुई बर्ष नेपालको विप्रेषण आप्रवाहमा क्रमशः १८.८ प्रतिशत र १६.४ प्रतिशतको वृद्धि भएको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेर २ लाख ७४ हजार ६ सय २२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
यस्तै १ लाख ९० हजार ८ सय ८६ जनाले ले पुनः श्रम स्वीकृति प्राप्त गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।