काठमाडौं । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तारको दोस्रो खण्डको विस्तृत परियोजना अध्ययन (डीपीआर) बनाउने कार्य सुरु भएको छ । ५ बर्ष अघि नै सो खण्डकोे विस्तृत अध्ययन र डिजाइनसँगै निर्माणसमेत गर्ने जिम्मा लिएको चिनियाँ पक्षले वेवास्ता गर्दा अहिलेसम्म अलपत्र अवस्थामा छ ।
यसैक्रममा चिनियाँ पक्षले आयोजना निर्माणका लागि हालै एक परामर्शदाता कम्पनीमार्फत सर्भे गरेको थियो । उक्त सर्भे गर्ने क्रममा कम्पनीले चक्रपथको विस्तृत परियोजना अध्ययन गर्नका लागि आवश्यक अध्ययन शुरु गरेको बताइएको छ । यससँगै चिनियाँ पक्षले अलपत्र चक्रपथको दोस्रो खण्ड विस्तारको काम अघि बढाएको अनुमान गरिएको चक्रपथ विस्तार आयोजना प्रमुख कृष्ण नाथ ओझा बताउँछन् । ‘हालसम्म केहि सूचना नदिएको चिनियाँ पक्ष आफै नआई एक परामर्शदाता कम्पनीलाई चक्रपथको सर्भे गर्न स्वीकृत दिएको रहेछ,’ उनले भने, ‘कन्सल्ट्यान्टले सर्भे गरेपछि अब चाहि चिनियाँ पक्षले यसको डिपीआरको काम अघि बढाएछ भन्ने अनुमान गरिएको हो ।
नेपाली पक्षले यो परियोजना निर्माणका लागि भन्दै साइट क्लियरिङको कामसँगै रुख कटान र भवन भत्काउने काम गरिसकेको छ । यसरी साइट क्लियरको काम गर्दा यो क्षेत्र धुलाम्य र हिलाम्य बन्ने गरेको छ । नेपाली पक्षबाट हुने काम सम्पन्न भएपछि डिपीआर तयार पारी निर्माणको काम गर्ने भन्दै चिनियाँ टोली ५ बर्षअघि चीन फर्केका थियो । नेपाली पक्षबाट हुनुपर्ने कामहरु सबै सम्पन्न भएको करिव १ वर्ष वितिसकेको छ । त्यतिमात्रै होइन नेपाली पक्षले साइड लेन निर्माण पनि करिव अन्तिम चरणमा पुर्याइसकेको ओझा बताउँछन् । ‘हामीले साइट क्लियरको काम गत बर्ष नै सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘साइडलेन कालोपत्रे गर्ने काम पनि चालु आर्थिक बर्षको अन्त्यसम्म सकिनेछ ।’
विस्तारको आशा
यसअघि पटकपटकको आग्रहलाई बेवास्ता गर्दै आएको चिनियाँ पक्षले गत मंसिरमा भएको प्रधानमन्त्रीको चीन भ्रमणपछि काम गर्ने आशा गरिएको थियो । तर, त्यो भ्रमणबाट समेत चक्रपथ विस्तारमा उचित उपलब्धि देखिएको थिएन । करिव ५ बर्षदेखि विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरिरहेको बताउँदै आएको चिनियाँ पक्षले हालसम्म पनि उक्त परियोजना अघि बढाउने प्रारम्भिक कामसम्म गर्न नसकेपछि नेपाली पक्षले यो आयोजना अघि बढ्ने बिषयमा सम्भावना देख्न छोडिसकेको थियो । तर, डिपीआर निर्माणका लागि आवश्यक परामर्शदाता कम्पनीले सर्भे गरेपछि अब आशा पलाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।
खासगरी आयोजनालाई भने परामर्शदाता कम्पनीलाई सहजीकरण गरिदिन आग्रह गर्दै पत्र आएको आयोजना प्रमुख ओझाले बिजखबरलाई बताए । ‘हामीलाई सहजीकरण गरिदिन पत्र आएको थियो सोहीअनुसार हामीले सहजीकरण गरेका छौं,’ उनले भने, ‘अध्ययनमा ड्रोन उडाउनेलगायतका क्रियाकलापका लागि अनुमति लिईदिने काम पनि हामीले गरेपछि परामर्शदाताले सर्भे सम्पन्न गरी फर्किएको हो ।’
यसले चिनियाँ पक्षले सडकको डिपीआर बनाउन टेण्डर आह्वान गरेको पुष्टि हुने उनले बताए । यसपछि उक्त टेण्डरमा भाग लिएका परामर्शदाताहरुमध्ये उत्कृष्ट चयन हुने र परियोजनाको अध्ययन र डिजाइनका काम गर्न अझै करिव ६ महिना लाग्ने उनको अनुमान छ । यसर्थ चिनियाँ पक्षले विस्तारको काम आगामी बर्षमात्रै अघि बढाउने अनुमान गरिएको उनले बताए ।
सकसमा सर्वसाधारण
नेपाली पक्षले साइट क्लियर गर्नका लागि सडकको वारपार भवन भत्काउने, युटिलिटी सुधार गर्ने, बिजुलीका पोल सार्ने र सडक खाली गर्ने काम गर्दा कलंकीदेखि महाराजगंजसम्म करीब साढे ८ किलोमिटर सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले पछिल्ला ५ बर्षदेखि हिलो र धुलोको कहर झेल्दै आउनुपरेको छ । त्यतिमात्रै होइन त्यो सडक आसपास पसल थापेर बसेका पसले, घर बनाएर बसेका नागरिकहरु पनि उत्तिकै प्रताडित छन् । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी ५ बर्षअघि नै निर्माण सम्पन्न गर्नेगरी काम गर्ने चिनियाँ पक्षले बताएको थियो ।
यसअघि २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो । यसबीचमा कोरोना महामारीलगायतका कारण देखाउँदै करिव डेढ बर्ष अघिमात्रै उक्त क्षेत्रको साइट क्लियरको काम नेपाली पक्षले सम्पन्न गरेको थियो ।
पहिलो खण्डमा साइट क्लियर नगरीकनै काम सुरु गरेको चिनियाँ पक्षले काममा बाधा झेल्नुपरेपछि दोस्रो खण्डको साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएर चीन फर्कको थियो । सोहीअनुसार नेपाली पक्षले हालसम्म सडकको ३१ मिटर क्षेत्रमा पर्ने सबै संरचना हटाइसकेको छ । अर्थात साइट क्लियरको काम सम्पन्न भइसकेको पनि करिव २ बर्ष बितिसकेको छ ।