Logo

नेपालको हस्पिटालिटी क्षेत्रमा रवि धितालको एग्रेसिभ मुभ : होटलसहित ३ क्यासिनो सञ्चालन, २ हजारलाई रोजगारी

नेपालको हस्पिटालिटी क्षेत्रमा रवि धितालको एग्रेसिभ मुभ : होटलसहित ३ क्यासिनो सञ्चालन, २ हजारलाई रोजगारी



काठमाडौं । पर्यटनका पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् । नेपालका लामो समयदेखि क्यासिनो संचालन गर्दै आएका धितालले अहिले पाँच तारे होटलमा समेत लगानी विस्तार गरेका छन् ।

धितालले केही समय अघिमात्रै झापाको किंग्सबरी होटल खरिद गरेका छन् । उनले उक्त पाँचतारे होटल १ अर्ब ९५ करोड रुपैयाँमा खरिद गरेका हुन् । नेपालमा पर्यटनको बढ्दो सम्भावना र नेपाल भारत सीमा क्षेत्रमा क्यासिनो व्यवसायको सम्भावना उच्च देखिएकाले सोहीअनुरुप आफुले होटल तथा क्यासिनो क्षेत्रमा लगानी विस्तार गरेको धितालले बिजखबरलाई बताए ।

नेपालकै चर्चित क्यासिनो एभरेष्टबाट सुरु भएको उनको हस्पिटालिटी क्षेत्रको यात्रा अहिले भारतको गोवादेखि अन्तरराष्ट्रिय गेमिङ उद्योगसम्म फैलिएको छ । उनले भारतको गोवामा संचालनमा गर्दै आएको क्यासिनो ‘विग ड्याडी’ एक चर्चित क्यासिनो हो । नेपालमा पनि धितालले विशेषगरी भारत तथा दक्षिण एसियाली मुलुकहरूबाट आउने उच्चस्तरीय पर्यटकहरू लक्षित गर्दै होटल तथा क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

काभ्रेमा जन्मिएका धितालले विगत ३ दशकदेखि क्यासिनो संचालनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन् । पुख्र्यौली पेशा कपडाको व्यापार रहेका धितालले आफुलाई हस्पिटलिटी क्षेत्रमा एक अब्बल व्यवसायीको रुपमा स्थापित गराएका छन् । क्यासिनो सञ्चालन र आतिथ्य व्यवस्थापनमा विज्ञसमेत रहेका धितालको होटल क्षेत्रमा प्रवेशसँगै नेपालमा समेत सोहीअनुरुपको गुणस्तरीय सेवा दिने उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य नेपालमा गुणस्तरीय पर्यटक भित्र्याएर सोहीअनुरुप उनीहरुलाई सुविधा दिने हो,’ उनले भने, ‘सोहीअनुरुप मैले लामो समयदेखि नेपालमा क्यासिनो संचालन गर्दै आएको थिए भने अहिले पाँचतारे होटलमा प्रवेश गरेको छु ।’

उनले खरिद गरेको झापाको विर्तामोडको होटल द किंग्सबरीमा ८२ वटा लक्जरी कोठाहरू रहेका छन् । जसमा ६ सुइट्स, ५ एक्जिक्युटिभ, र ७१ डिलक्स रूम रहेका छन । मनोरञ्जनको प्रिमियम सुविधा रहेको उक्त होटलमा रुफटप बार, पुलसाइड बार, फिटनेस सेन्टरसहित स्वीमिङ पुल र स्पा रहेको छ । सर्वकालिक डाइनिङसहितको रेस्टुराँ रहेको उक्त होटलमा शाकाहारीका लागि छुट्टै रेस्टुराँ रहेको छ । उनले खरिद गरेको सो होटलले प्रत्यक्षरुपमा ३ सय जनालाई रोजगारी दिने छ । साथै उनले सो होटलमा क्यासिनो सेभेन हर्स सञ्चालन गर्दै आएका छन् ।

नेपालमा आन्तरिकरुपमा रोजगारी सिजर्ना गर्दै सरकारलाई समेत ठूलो मात्रामा रावस्व बुझाउँदै आएको क्यासिनो क्षेत्र विस्तारमा धितालको महत्वपूर्ण योगदान रहेको छ । उनले हाल क्यासिनो ‘सेभेन हर्स’का साथै होटल मेची क्राउनमा ‘ ‘ क्यासिनो भेगास’ र भैरहवाको टाइगर प्यालेसमा ‘क्यासिनो टाइगर प्यालेस’ सञ्चालन गर्दै आएका छन् ।

हाल नेपालमा आफुले सञ्चालन गर्दै आएको होटल तथा क्यासिनोले २ हजार जनालाई रोजगारी दिँदै आएको र सोहीअनुरुप सरकारलाई समेत राजस्व बुझाउँदै आएको उनले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको देशभित्र गुणस्तरीय पर्यटक भित्र्याएर उनीहरुलाई सेवा सुविधा दिँदै विदेशी मुद्रा आर्जन गर्नु हो,’ धितालले भने, ‘हामीले पर्यटकको नम्बरलाई प्राथमिकतामा राख्दै आएका छौं तर त्यसरी देशमा विदेशी मुद्रा भित्र्दैन तसर्थ अब सरकारले देशभित्र खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्