काठमाडौं । पछिल्लो एक महिनामा नेपाल टेलिकमले आफ्ना इन्टरनेट ग्राहक सवा २ लाखले बढाएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको माघमा मात्रै आफ्ना इन्टरनेट ग्राहकहरु २ लाख २४ हजार ७ सय ८२ जना थपेको हो । नेपाल टेलिकमले खासगरी पुरानो प्रविधिको एडिएसएल केबल, फाईबर टु दी होम (एफटीटीएच) र मोबाईल इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
जसमध्ये सबैभन्दा बढी हिस्सा भने कम्पनीको मोबाइल इन्टरनेटले ओगटेको नेपाल टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार हाल कम्पनीको मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्य मात्रै १ करोड ४१ लाख ८३ हजार बढी छ । यस्तै यस अवधिसम्म कम्पनीको पुरानो प्रविधिअन्तर्गत रहेको एडीएसएलमार्फत इन्टरनेट सेवा लिने ग्राहकको संख्या भने १ हजार ८ सय २१ रहेको प्राधिकरणले जानकारी दिएको छ । कम्पनीले लामो समयदेखि एडीएसएल प्रविधि हटाउने घोषणा गरिरहेपनि हालसम्म त्यसलाई एफटीटीएचमार्फत प्रतिस्थापन गर्न नसकेको देखिन्छ ।
करिव साढे ३ बर्षअघि तीव्रत्तर विस्तार गर्ने भन्दै ल्याइएको फाईबर टु दी होम सेवामा पनि टेलिकमले उल्लेख्य प्रगति गर्न नसकेको यसमार्फत इन्टरनेट सेवा उपभोग गरिरहेको ग्राहकको संख्यालाई हेर्दा देखिन्छ । साढे ३ बर्ष अघि नै संचालनमा ल्याइएको भएपनि यो प्रविधिमार्फत टेलिकमको इन्टरनेट, टेलिफोन र भिडियो चलाउनेको संख्या ३ लाख २१ हजार मात्रै छ । यद्यपि माघ महिनामा भने टेलिकमको एफटीटीएच ग्राहकहरु २ हजार ८ सय जना बढेका छन् । यता मोबाइल इन्टरनेटमै पर्ने थ्रिजी र फोरजी सेवाग्राहीको संख्या क्रमशः ६ हजार २ सय ६५ र २ लाख १६ हजारले बढेका छन् । यसरी हेर्दा टेलिकमको फोरजी सेवामा उल्लेख्य प्रगति गरेको देखिन्छ ।
सरकारी स्वामित्वको टेलिकमले माघ महिनामा आफ्ना ग्राहकहरु बढाउँदा यता निजी लगानीको एनसेलका ग्राहक भने घटेका छन् । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा एनसेललको इन्टरनेट सेवा मोबाइल ब्रोडब्याण्डमा मात्रै आधारित छ । पुसको तुलनामा फागुनमा एनसेलका मोबाईल ब्रोडब्याण्ड ग्राहक १ लाख ४ हजार २ सय ९२ जनाले घटेका छन् । अर्थात पुस मसान्तसम्म १ करोड २० लाख ६५ हजार रहेका एनसेलको मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता फागुनमा १ करोड १९ लाख ६० हजारमा झरेका हुन् ।
खासगरी एनसेलको मोबाइल ब्रोडब्याण्डमा पनि थ्रिजी सेवाका ग्राहकहरु उल्लेख्य घटेका छन् । प्राधिकरणका अनुसार पुस मसान्तसम्म एनसेलको थ्रिजी सेवा प्रयोगकर्ताको संख्या १ लाख ४७ हजार ६ सय रहेकामा माघमा घटेर १ लाख ३८ हजारमा झरेको हो । यस्तै एनसेलका फोरजी ग्राहक भने ९५ हजार २ सय जना घटेका छन् ।