काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले रातिको समयमा आक्रमण गरेको हो । महतोको शव शनिबार बिहान फेला परेको थापाले जानकारी दिएका छन् ।
यसअघि पनि सोही हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो । दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउने घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा उपाय कडा बनाउनु पर्ने माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । निकुञ्ज प्रशासनले गोविन्दे हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ ।