काठमाडौं । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा शयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।
दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । ‘कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्’, चितवनबाट घुम्न आएका रोशन सापकोटाले भने, ‘ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानु जस्तो छ ।’
कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । ‘हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको’, स्थानीय सुजन सापकोटाले भने ।
यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीय बताउँछन् । ‘इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ ।’ स्थानीय व्यापारी अमीर आचार्य भन्छन्, ‘फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।’
काठमाडौँमा व्यवसाय गरिरहेका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्छन् । ‘छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्’, उनले भने, ‘इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।’ दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’ का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताए।
जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउँछन् । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य रु ५० र ठूलो रु एक सयमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ ।
इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए । ललिपप, बम्बइसन जस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ।