काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा बैठकमा उद्योग मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै, सरकारले जारी गरेका छ मध्ये पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने छ, जसलाई बुधबारको प्रतिनिधिसभा बैठकले पारित गरिसकेको छ।
तर, राष्ट्रिय सभामा यी अध्यादेशहरू पारित गराउन आवश्यक संख्या जुटाउन सरकारलाई चुनौती देखिएको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश पारित गर्न कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ। सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरी २७ सांसद रहेका छन्। मनोनीत सांसदहरू अञ्जान शाक्य र वामदेव गौतमले सरकारलाई समर्थन गर्ने विश्वास गरिएको छ।
तर, जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक स्थितिमा रहेको छ। जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग पूर्वसर्त राखेको छ। जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यस विषयमा असहमति जनाएका कारण सरकारले थप छलफल गरी प्रतिस्थापन विधेयक ल्याउने वा नयाँ विधेयक दर्ता गर्नेबारे परामर्श गरिरहेको छ। जसपाले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिसकेको छ।
राष्ट्रिय सभामा प्रस्तुत हुन लागेका अध्यादेशहरू :
- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
- निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
- आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
सरकारले जसपाको समर्थन सुनिश्चित गर्दै राष्ट्रिय सभामा अध्यादेश पारित गर्ने रणनीति बनाइरहेको छ।