Logo

पाथीभरा केबलकार निर्माणको निर्णय ०७५ सालमै भएको हो : गृहमन्त्री लेखक

पाथीभरा केबलकार निर्माणको निर्णय ०७५ सालमै भएको हो : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए। गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।गृहमन्त्री लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन्। ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने । अर्थात् पहिलेदेखि नै यसको निर्माण कार्य अगाडि बढेको उनले बताए ।

निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको उनले बताएका छन् । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने उनले उल्लेख गरे । गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए ।

त्यस्तै, उनले विभिन्न विधेयक सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्