Logo

नेप्सेको सीईओका लागि आवेदन दिने म्याद थप, कस्ता व्यक्तिले दिन सक्छन आवेदन ?

नेप्सेको सीईओका लागि आवेदन दिने म्याद थप, कस्ता व्यक्तिले दिन सक्छन आवेदन ?



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि आवेदन दिने म्याद थप भएको छ । सीईओ नियुक्तीका लागि गठित सिफारिस समितिले ७ दिन म्याद थप भएको जानकारी दिएको छ ।

३ दिन सार्वजनिक बिदा परेकाले म्याद थप गरिएको समितिको भनाई छ । यस अघि आवेदन दिने अन्तिम मिति फागुन १८ गतेलाई तोकिएको थियो । अब, फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

योग्यता पु्गेका इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदनसाथ गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ ।

नेप्सेको सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ बर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५बर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनुपर्ने सूचनामा जनाइएको छ ।

त्यस्तै, नेपालको नागरिक भएको हुनुपर्ने, धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति भने अयोग्य हुनेछन् । प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, मानसिक सन्तुलन ठीक नभएको व्यक्तिहरु आवेदनका लागि अयोग्य हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्