काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी संचय कोषलाई बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा रोक लगाएको छ । पछिल्लो समय संचय कोषले सम्बन्धित बैंकका सेयरधनीसँगको आपसी मिलेमतोमा कमिसनको खेलमा बढी मूल्य हालेर सेयर खरिद गर्न थालेको विषय बाहिरिएपछि राष्ट्र बैंकले आन्तरिक रुपमा रोक लगाएको हो ।
लामो समयदेखि कर्मचारी संचय कोषले बैंकको संस्थापक सेयरमा लगानी गर्दै आएको छ । तर, पछिल्लो समय ठूलो मात्रामा सेयर खरिद गर्न थालेपछि सो सम्बन्धमा राष्ट्र बैंकले आन्तरिक रुपमा अनुसन्धान गरेको थियो । बैंकमा आएको उजुरी र राष्ट्र बैंक स्वंयले अध्ययन गर्दा सेयरधनीसँगको मिलेमतोमा सेयर खरिद गरेको भेटिएपछि हाल संस्थापक सेयर खरिद गर्नमै रोक लगाइएको हो ।
कर्मचारी संचय कोषले सेयर खरिदमा बदमासी गरेको भेटिएपछि अहिले बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्न नै रोक लगाईएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘हामीले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायत सरकारी संस्थाहरुले सेयर खरिदगर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई दिगो रुपमा संचालन गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले केही खुकुलो नीति अबलम्बन गरेका थियौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर कोष र बैंकका सेयरधनीबीच आपसी मिलेमत्तोमा कोषलाई महंगोमा सेयर खरिद गराउने कमिसनको खेल चलेपछि आन्तरिक रुपमा रोक लगाइएको हो ।’
उदाहरणका लागि अहिले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर ६०/७० रुपैयाँ देखि नै पाइन्छ । तर, कोषले सेयरधनीसँगको मिलेमतोमा प्रायजसो बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर एक सय रुपैयाँभन्दा माथि मूल्य राखेर खरिद गरेको छ । विशेषगरी आन्तरिक रुपमा डिल गरेर सञ्चय कोषको ठूलो रकम हिनामिना हुने गरेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।
नागरिक लगानी कोषमाथि पनि प्रतिबन्ध
राष्ट्र बैंकले नागरिक लगानी कोषमाथि पनि बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्न रोक लगाएको छ । बैंक तथा वित्तीय संस्था ऐनमा भएको राष्ट्र बैंकको तजविजी अधिकारअनुसार सरकारी कोषलाई बैंक तथा वित्तीय संस्थाको तोकिएको सीमा भन्दा बढी सेयर खरिद गर्न अनुमति दिइएपनि पछिल्लो समय अनिमियतता बढ्दै गएपछि नागरिक लगानी कोषलाई पनि अन्य व्यक्ति तथा संस्थालाई जस्तै १५ प्रतिशतको क्याप लगाएर एक बाहेक अन्य कम्पनीको सेयर खरिदमा रोक लगाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
‘यसअघि त्यस्ता कोषले एउटा बैंकको १५ प्रतिशतको सीमा भित्र रहेर अन्य कम्पनीको पनि सेयर खरिद गर्न सक्दथे,’ उनले भने, ‘तर अहिले त्यसरी संस्थापक सेयर खरिद गर्न रोक लगाइएको छ ।’ सकारी कोषहरुलाई सहजीकरण नीति अवलम्बन गर्दा त्यसलाई दुरुपयोग गरेपछि अहिले कडाई गरिएको समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।