काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज (आइतबार) दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ । विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ। गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो ।
यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ । त्यसैले आज वर्षा र हिमपातको सम्भावना छैन। शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ परेको थियो । हिमपातले केही जिल्लामा यातायात आवागमन नै प्रभावित भएको थियो ।