काठमाडौं । नेपालमा ठूला पूर्वाधार निर्माण गर्ने उद्देश्य अनुरुप १० अर्ब रुपैयाँ पुँजी सहित संचलनमा आएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीलाई नविनतम सोचका साथ देशभित्र नयाँ नयाँ क्षेत्रको पहिचान गरी लगानी बढाउने उद्देश्य अनुरुप राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत शर्मालाई सीईओमा नियुक्त गरेको हो
कम्पनीको संचालक समितिले यसअघि ग्लोबल आइएमई बैंककै तत्कालिन सीईओ रत्नराज बज्राचार्य सीईओमा नियुक्त गरेको थियो । तर, पछिल्लो समय बज्राचार्यले सल्लाहकारको भुमिकामा रहने इच्छा देखाएपछि शर्मालाई सीईओमा नियुक्त गरिएको हो । हाल उक्त कम्पनीमा शर्मा सीईओ भएसँगै बज्राचार्य सल्लाहकारको भुमिकामा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापित १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’को विशेषगरी नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी छ । देशमा लगानीको अभाव भईरहँदा निजी क्षेत्रबाट देशमा ठूला पूर्वाधार निर्माण गर्न ढकालले देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न पाउनेगरी उक्त कम्पनी स्थापना गरेका थिए ।
हाल करिव २ अर्ब रुपैयाँभन्दा बढी रकम जुटाईसकेको उक्त कम्पनीले अफिस स्थापना गरी लगानीका विषयमा अध्ययन गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय लैनचौरको मेट्रो पार्कमा रहेको छ ।
आगामी दिनमा उक्त कम्पनीमार्फत बहुपक्षीय साझेदारमार्फत ऋण ल्याएर नेपालका ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि कम्पनीले प्रस्ताव अघि बढाएको छ । विशेषगरी नेपालमा पर्यटन पूर्वाधार निर्माण, कृषि, जलविद्युत तथा ठूला पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य अनुरुप उक्त कम्पनी खडा गरिएको हो ।
उक्त कम्पनीमा नेपालका सम्पूर्ण निजी क्षेत्रलाई प्रतिनिधित्व गराउन नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल संचालकमा रहेका छन् ।
महासंघ अध्यक्ष ढकालले नेपालमा पूर्वाधारमा लगानी जुटाउने उद्देश्यसहित महासंघको ढोरपाटनमा भएको कार्यसमिति बैठकबाट १० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्ने उद्घोष गरेका थिए । कुल १० अर्ब पुँजीको लगानीमा स्थापित उक्त कम्पनीले सर्वसाधारणमा सेयरसमेत जारी गर्ने छ । राष्ट्र निर्माणमा सबैको अपनत्व हुनेगरी पुँजी जुटाईने र सोहीअनुरुप लगानीकर्तालाई उच्च प्रतिफल समेत वितरण गरिने कम्पनी स्रोतले जानकारी दिएको छ ।