काठमाडौं । सरकारी स्वामित्वको नागरिक स्टक डिलरले ग्राहक तान्ने नाममा अख्तियारको समेत दुरुपयोग गरेको पाइएको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा स्थापित नागरिक स्टक डिलरले धितोपत्र ऐनले तोकेको सीमाभन्दा बाहिर गएर सरकारी रकम अपचलन गर्दै अख्तियारको समेत दुरुपयोग गरेको हो ।
धितोपत्र ऐनअनुसार अहिले सेयर कारोबार गरेको दुई दिन अर्थात टी प्लस टू कार्यदिनभित्र हिसाब राफसाफ गरिसक्नुपर्छ । तर नागरिक स्टक डिलरले सरकारी पैसा अपचलन वा सरकारलाई घाटा पुग्ने गरी लगानीकर्ता तान्ने नाममा खुलेआम एसएसएसमार्फत म्यासेज गर्दै ७ दिनसम्म उधारो दिएको छ ।
‘नियमतः दुई कार्यदिनभित्र हिसाब राफसाफ हुनुपर्नेमा सरकारी लगानीकै नागरिक स्टक डिलरले ७ दिनसम्सका लागि उधारो दिनु गैरकानूनी काम हो,’ एक लगानीकर्ताले भने, ‘अहिले जसरी एसएमएसमार्फत सार्वजनिक रुपमा ७ दिनका लागि उधारो भन्दै आब्हान गरिएको छ यसबाट सरकारले राजस्व गुमाउनुका साथै धितोपत्र ऐन दफा ९६ को समेत बर्खिलापमा छ ।’ जसरी सरकारी राजस्व माथि असर पुर्याउने गरी खुलेआम उधारो सेयर खरिदका लागि अफर गरिएको छ यसले सम्बन्धित निकायका जिम्मेवार व्यक्तिमाथि अख्तियार दुरुपयोग गरेको आरोपमा समेत कारबाही गर्नुपर्ने सम्बद्ध विज्ञहरु बताउँछन् ।
अहिले पनि ब्रोकरहरुमा उधारो कारोबार नभएका होइनन् । तर जसरी नागरिक स्टक डिलरले खुलेआम म्यासेज पठाएर धितोपत्र ऐनको बर्खिलापमा गयो यसले समग्र पुँजी बजारलाई नै धरासायी बनाउने एक लगानीकर्ताले बताए । सरकारी स्वामित्वको उक्त कम्पनीले त्यसरी गैर कानूनीरुपमा काम गर्नु ठूलो अपराध भएको समेत उनले जानकारी दिए । ‘आदरणीय ग्राहक महानुभाव, ७ करोबार दिन सम्मका लागि ब्रोकर लिमिट चाहियमा कृपाया तलको नं। मा सम्पर्क गर्नुहोला,’ नागरिक स्टक डिलरले आम लगानीकर्ताहरुलाई पठाएको एसएमएसमा भनिएको छ, ‘सम्पर्क नम्बर ९८४३४६६७०, ९७६१७९९५८०, ९८५११८०५४५ नागरिक स्टक डिलर कम्पन लि (ब्रोकर ६०) ।’
आम लगानीकर्तालाई यसरी म्यासेज पठाएको उजुरी परेसँगै धितोपत्र ऐन विपरित सेयर कारोबार गराएको भन्दै गत हप्ता धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जले स्पष्टीकरण सोधेको थियो । सो विषयमा नागरिक स्टक डिलरले जवाफ पठाएको र सो विषयमा अध्ययन गरिने सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्यले जानकारी दिए । ‘हामीले गतहप्ता स्पष्टीकरण सोधेका थियौं,’ उनले भने, ‘अहिले जवाफ प्राप्त भएको छ, उक्त जवाफको अध्ययन गरी ऐनमा भएको व्यवस्थाअनुसार कारबाही गछौं ।’
धितोपत्र ऐनको दफा ९६ अनुसार कुनै पनि ब्रोकर कम्पनीले कसैलाई धितोपत्र किन्न वा बिक्री गर्न उत्साहित गर्नेजस्ता कार्य गर्न पाईदैन । तर, नागरिक स्टक डिलरले उधारोको नाममा लगानीकर्तालाई सेयर किन्नका लागि उत्साहित गर्दै बजारलाई प्रभाव पारेको देखिन्छ । यसैगरी धितोपत्र व्यवसायी विनियमावली अनुसार पनि एउटा धितोपत्र दलाल व्यवसायीले अर्को धितो दलाल व्यवसायीको व्यवसायमा असर पर्नेगरी कुनै पनि विज्ञापन तथा स्किम निकाल्न नपाइने उल्लेख छ । तर, नागरिक स्टक डिलरले माथि उल्लेखित उक्त व्यवस्थाहरुको उल्लंघन गर्नुका साथै सरकारी स्रोत र साधनको दुरुपयोग गरी अख्तियारको समेत दुरुपयोग गरेको स्पष्ट देखिने सम्बद्ध कानूनविद्हरु बताउँछन् ।