Logo

घिसिङ भन्छन्, ‘देश आधारभुत रुपमा लोड सेडिङ मुक्त भइसक्यो घोषणा गर्न मात्र बाँकी हो’

घिसिङ भन्छन्, ‘देश आधारभुत रुपमा लोड सेडिङ मुक्त भइसक्यो घोषणा गर्न मात्र बाँकी हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक आधारभुत रुपमा लोडसेडिङ मुक्त भैसकेको बताएका छन् । ‘तिहार यता हामीले उद्योग वाहेक अन्य क्षेत्रमा लगभग लोडसेडिङको अन्त्य गरिसकेका छौं,’ नेपाल उद्योग बाणिज्य महासंघले आयोजना कार्यक्रममा बोल्दै उनले भने, ‘अव यसलाई औपचारिक रुपमा घोषणा गर्न मात्र बाँकी हो ।’
उनका अनुसार अहिले भारतबाट ३ सय ४० मेगावाट विद्युत आयात भैरहेको र केहि दिनभित्रै थप ४० मेगावाट विद्युत आयात गरिने छ । थप ४० मेगावाट विजुली आयातभएसँगै लोडसेडिङ अन्त्य गर्न सहज हुने उनको तर्क छ । ‘अहिले केही व्यक्तिहरुले विजुली आयात गरेर लोडसेडिङ अन्त्य गर्यो भन्ने आरोप लगाइरहेका छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा आयात गर्नु नै ठूलो चुनौती हो ।’

हाल नेपालकै जडान भएको उत्पादन क्षमता ९ सय मेगावाट रहेको र त्यसबाट ड्राइ सिजनमा ४ सय मेगावाट उत्पादन भैरहेको उनले जानकारी दिए । अवको डेढवर्ष भित्र नेपालकै उत्पादन १ हजार ५ सय मेगावाट पुग्ने जानकारी दिँदै अवका दिनमा नेपाली जनता लोडसेडिङको मारमा बस्न नपर्ने दावी गरे ।

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत आयोजना होल्ड गरेर बस्ने कम्पनीको लाइसेन्स खोसिने बताए । अहिले केही कम्पनीले लाइसेन्स होल्ड गरेको र आगामी दिनमा स्पष्टिकरण लिइने समेत उनले जानकारी दिए । साथै बुढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, दुधकोशी, उत्तरगंगा, अरुण, तमोर लगायतका ठुला जलविद्युत आयोजना कम्पनी मोडलमा सरकार आफैंले निर्माण गर्ने उद्घोष गरे ।

मन्त्री शर्माले हावाबाट पनि ३ हजार मेगावाट विद्युत उत्पादनको सम्भवना भएको जानकारी दिँदै आवश्य परेर सरकारले १ वर्षमै उत्पादन गर्ने जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँ लगायतले लोडसेडिङ न्युनिकरण भएसँगै उद्योग धन्दा फस्टाएको बताए । तर, सरकारले डिमाण्ड साइडलाई मात्र ध्यान दिएर सप्लाई साइडलाई वास्ता नगरेको इपानका अध्यक्ष गुरागाईँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्