काठमाडौं । बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सर्टलिस्टमा परेका ५ जनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । जसमा अन्य २ प्रतिस्पर्धीलाई पछि पार्दै ओझा अध्यक्ष नियुक्त भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकाओझासँग नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम काम गरेको अनुभवसमेत रहेको छ ।
प्राधिकरणका यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।