Logo

वर्षौअघि आत्मनिर्भर घोषणा गरिएका वस्तुको आयात नै अर्बौको, नेपाली उत्पादन भने अलपत्र

वर्षौअघि आत्मनिर्भर घोषणा गरिएका वस्तुको आयात नै अर्बौको, नेपाली उत्पादन भने अलपत्र



काठमाडौं । चार वर्षअघि नेपाल कृषिजन्य र औद्योगिक उत्पादनका २३ वस्तुमा आत्मनिर्भर भएको भन्दै सरकारले गर्वका साथ घोषणा गर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन पुगेर सार्वजनिक कार्यक्रममा विभिन्न वस्तुहरुको नाम लिँदै अब नेपालले यस्ता वस्तुहरुमा परनिर्भर हुन नपर्ने घोषणा गरे । तर, तथ्यांकले भने चार वर्षअघिको प्रधानमन्त्रकिो त्यो दाबीलाई नै गिज्याइरहेको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो सात महिनामै नेपालले अर्बौं रुपैयाँ बराबरका ती वस्तुहरू आयात गरिसकेको छ, जसलाई सरकार आफैंले आत्मनिर्भर भइसकेको बताउँदै आएको थियो । नेपाल सरकारले सन् २०२० मा घोषणा गरेअनुसार मुलुक पशुजन्य उत्पादन, अण्डा, मासु, दूध, तरकारी, चिया, साबुन, पाइप, कागज, फलामजस्ता २३ वस्तुमा आत्मनिर्भर भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब यी वस्तुहरू विदेशबाट आयात गर्नुपर्ने अवस्थाबाट मुक्त भएको दाबी गरेका थिए । तर, भन्सार विभागका पछिल्ला तथ्यांकले सरकारको उक्त दाबीलाई गलत साबित गरेको छ भने देशको अर्थतन्त्र गम्भीर रहेको पनि संकेत गरेको छ ।

भन्सार विभागका अनुसार चालु आवको पहिलो सात महिनामै नेपालले मासुजन्य उपयोगका लागि ४७ करोड ६३ लाख रुपैयाँ बराबरका २६ लाख ३९ हजार थान खसी, बोका, राँगा, कुखुरा, हाँसलगायतका पशुपंक्षी आयात गरेको छ । यस्तै, ७१ करोड ७४ लाख रुपैयाँ बराबरको २६ लाख ४९ हजार किलो माछामासु भित्रिएको छ । दूध, दही, घिउ, पनिर, बटर, महीलगायतको आयात मात्रै ८२ करोड २९ लाख रुपैयाँ नाघेको छ ।

आत्मनिर्भर भएको भनिएको अण्डा पनि ठूलो मात्रामा आयात भइरहेको तथ्यांकले देखाउँछ । पछिल्लो सात महिनामै नेपालले २ करोड १८ लाख रुपैयाँ बराबरका ९८ हजार बढी अण्डा आयात गरेको छ भने महको पनि आयात उल्लेख्य रहेको छ । सोही अवधिमा नेपालले ६ करोड ३३ लाख रुपैयाँ बराबरको २ लाख २६ हजार किलो मह विदेशबाट भित्र्याएको छ ।

त्यस्तै, सरकारले नेपाल अब तरकारी उत्पादनमा आत्मनिर्भर भएको बताउँदै आए पनि भन्सार विभागको तथ्यांकले फरक यथार्थ देखाएको छ । पछिल्लो सात महिनामा मात्र नेपालले १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको तरकारी मात्रै आयात गरिसकेको छ । लसुन, आलु, प्याज, काउली, बन्दालगायतका तरकारीमामार्फत यस्तो धेरै रकम बाहिरिएको तथ्यांकमा देखिन्छ ।

दलहन उत्पादनमा पनि आत्मनिर्भरता दाबी गरिएपनि नेपालले पछिल्लो सात महिनामा नै ९ अर्ब ६० करोड रुपैयाँ बराबरका मसुरो, मटर, चना, राज्मालगायतका दलहन आयात गरिसकेको छ । यस्तै, कागज पनि स्वदेशमै उत्पादन भैरहेको दाबी गरिए पनि नेपालले सोही अवधिमा ५० करोड रुपैयाँ बराबरको कागज विदेशबाट ल्याइसकेको छ ।

सरकारले आत्मनिर्भर भनिएका वस्तुहरूको आयातको वास्तविक अवस्था बुझ्नै नसकिएको यसक्षेत्रका जानकारहरु बताउँदै आएका छन् । यस क्षेत्रका उत्पादक र व्यवसायीहरूका अनुसार नेपालमा उत्पादन भएकै वस्तुहरू उपभोक्तामाझ सहज रूपमा पुग्न सक्दैनन् । बजार व्यवस्थापन कमजोर भएकाले किसानले उत्पादन गरे पनि बेच्न सक्दैनन् । उदाहरणका लागि, दूध उत्पादक किसानहरू आफ्नो उत्पादन खेर जाँदा सडकमा फाल्न बाध्य हुने गर्छन्, तर बजारमा भने महँगो मूल्यमा विदेशबाट ल्याइएको दूध र दूधजन्य पदार्थ बिक्री भइरहेको छ ।

यसरी हेर्दा आत्मनिर्भरता नारा मात्रै बनेको देखिन्छ । उत्पादन भएपनि उपयुक्त नीति, प्रर्वद्धन र सरकारी नियमन अभावले गर्दा नेपाली उत्पादन प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीहरूको गुनासो छ । ‘आत्मनिर्भर बन्नु भनेको केवल उत्पादन गर्नु नभई ती स्वदेमा उत्पादन भएको उत्पादनलाई उपभोक्तासम्म पुर्याउने प्रभावकारी संयन्त्र बनाउनु पनि हो । सरकारले घोषणा गर्दा तथ्यमा आधारित हुनुपर्नेमा ध्यान नदिएकाले यस्तो स्थिति आएको छ’, एक नेपाली व्यवसायीले बताए ।

अहिलेको तथ्यांकलाई हेर्दा नेपाल अझै धेरै वस्तुहरूमा परनिर्भर रहेको देखिन्छ । सरकारको नीति सही दिशामा नभएमा आत्मनिर्भरता झनझन पर हुने र स्वदेशी उद्योग र उत्पादनसमेत धराशायी हुने खतरा रहेको जानकार बताउँछन्् । ‘अब नारा होइन, प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेको छ। नेपाली उत्पादनलाई प्रर्वद्धन गर्न भन्सार नीतिहरू परिमार्जन गर्नुपर्ने, किसानलाई अनुदान र बजार सुनिश्चित गरिनुपर्ने, र स्वदेशी उद्योगलाई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न सहयोग पुर्याइने वातावरण बनाउनुपर्छ’, ती व्यवसायीले बताए । ।

नेपालले आत्मनिर्भर हुन सक्ने सम्भावना भएका वस्तुहरूमा लगानी वृद्धि गर्नु जरुरी रहेको विश्लेषकहरुले बताउँदै आएका छन्। ‘उत्पादनलाई दिगो बनाउनका लागि सरकारले व्यवसायी, किसान, तथा अन्य सरोकारवालासँग मिलेर कार्यनीति बनाउनु पर्ने देखिन्छ । अन्यथा, अहिलेको जस्तै आत्मनिर्भरता घोषणा गर्ने तर अर्बौंको आयात गर्ने परिपाटी निरन्तर रहिरहने छ’, एक विश्लेषकले बताए ।

प्रतिक्रिया दिनुहोस्