काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । बोर्डले धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको हो ।
बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।
बोर्डले जारी गरेको मार्गनिर्देशनमा त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिइएको छ ।
उक्त मार्गदर्शनमा भएका मुख्य व्यवस्थाहरू देहायअनुसार रहेका छन्
- नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको United Nation Sanctions List मा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीहरूले कारोबारको तथ्याङ्क (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने ।
- उक्त तथ्याङ्क (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने ।
- धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने ।
- आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने ।