Logo

सवारी लाइसेन्स लिन लाइन बस्नु नपर्ने, अब उपत्यकामै ४ स्थानबाट वितरण

सवारी लाइसेन्स लिन लाइन बस्नु नपर्ने, अब उपत्यकामै ४ स्थानबाट वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बागमती अञ्चलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको चाप बढेसँगै अब विभिन्न चार ठाउँबाट वितरण गरिने भएको छ । यस अघि एक ठाउँबाट मात्र लाइसेन्स वितरण गर्दै आएकोमा यातायात व्यवस्था विभागले सेवाग्राहीको सुविधाको लागि थप तीन स्थानमा विस्तार गर्न लागेको हो ।

विभागका अनुसार पुस २७ गतेपश्चात थप तीन स्थानबाट लाइसेन्स वितरण गर्न लागिएको हो । हाल बागमती यातायात कार्यालय एकान्तकुनाबाट मात्रै लाइसेन्स वितरण गर्दा सेवाग्राहीको चाप बढेको तथा लामो समयसम्म लाइनमा वस्नुपर्ने भएकाले कार्यालय थप गर्न लागिएको हो ।

विभागले हिजोदेखि स्वयम्भु ठूलो भर्याङबाट लाइसेन्स नविकरण लगायतका काम शुरु गरिसकेको छ । त्यसको एक हप्ता भित्र नयाँ लाइसेन्सको फर्म वितरण तथा लिखित र ट्रयाल परीक्षा समेत लिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

यसैगरी पुस २७ गतेदेखि चाहविल र भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरण कार्य शुरु गर्ने भएको छ । विभागले यी दुवै स्थानमा सोही दिन कार्यालय उद्घाटन गर्ने भएको छ । चाहविल र जगातीबाट शुरुको पहिलो एक हप्ता पुराना लाइसेन्स मात्र नविकरण गर्ने र त्यसपछि नयाँ लाइसेन्स वितरणकार्य शुरु गरिने भएको छ ।

उपत्यकाका विभिन्न चार स्थानबाट लाइसेन्स वितरण गर्न शुरु गरेसँगै सेवाग्राहीले सहज रुपमा सुविधा लिन सक्ने विभागको दावी छ । हाल एक स्थानबाट मात्रै वितरण हुँदा सेवाग्राहीहरु लाइसेन्स लिनका लागि दिनभरी लाइन बसेर फारम बुझाउनु पर्ने बाध्यता छ भने कतिपय अवस्थामा फारम बुझाउनकै लागि भोलिपल्ट पनि धाउनुपर्ने बाध्यता छ । थप तीन स्थानबाट वितरण शुरु गरेसँगै यो समस्या घट्ने विभागको दावी छ ।

विभागले बागमतीबाट लाइसेन्सको स्मार्टकार्ड वितरण गरेसँगै सेवाग्राहीको चाप बढेको हो । स्मार्टकार्ड वितरणका लागि लामो समय लाइसेन्स वितरणकार्य रोकिएकाले सेवाग्राहीको चाप बढेको हो । हाल बागमती यातायात कार्यालयमा दैनिक ३ हजा जानभन्दा बढी सेवाग्राही लाइसेन्स लिनका लागि फारम बुझाउन जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्