काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) बिक्री गर्ने घोषणा गरेको छ। आईपीओको पहिलो चरणमा आयोजनाबाट प्रभावित बाँके जिल्लाका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये १ लाख ६० हजार कित्ता बाँके जिल्लाका आयोजना प्रभावित बासिन्दाहरूका लागि र १ लाख ४४ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूको लागि छुट्याइनेछ।
आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया फागुन २० गतेदेखि चैत ५ गतेसम्म खुला रहनेछ। पहिलो चरणको आईपीओ बाँडफाँड पछि, दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। कम्पनीको धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।