काठमाडौं । सरकारले सुपारी, केराउ र मरीच आयात खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनमा यी वस्तुहरूको आयात स्वीकृति दिएको हो।
२०७६ चैत २४ मा सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। व्यवसायीहरूको मागपछि सरकारले यो बन्देज हटाउने निर्णय गरेको छ।
कोभिड–१९ को समयमा विदेशी मुद्रा सञ्चिति जोगाउन तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले यी वस्तुहरूको आयात रोक्न निर्देशन दिएका थिए। पछि २०७७ चैत ९ मा सरकारले नीति परिमार्जन गर्दै पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लागू गरेको थियो।
नयाँ व्यवस्थाअनुसार, उत्पादनमूलक उद्योगहरूका लागि मात्र यी वस्तुहरू आयात गर्न अनुमति दिइनेछ। कच्चा पदार्थको आवश्यक मात्रा निर्धारण गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सिफारिस लिएर आयात गर्न पाइने व्यवस्था गरिएको छ। सरकारले यस निर्णयले उद्योगहरूलाई सहजता ल्याउने विश्वास लिएको छ।