Logo

भारतको केआईआईटीको होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाली ल्याइँदै

भारतको केआईआईटीको होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाली ल्याइँदै



काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भइरहेको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।

आज साँझसम्म ल्याइपुर्‍याउने उनका आफन्तले जनाएका छन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर आफूहरुलाई न्याय चाहिएको बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन, कुटपिट गर्दै होस्टलबाट निकालिदिएको थियो । चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।

प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ । प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्