Logo

स्याङ्जामा नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, नौ दिनसम्म मेला लाग्ने

स्याङ्जामा नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, नौ दिनसम्म मेला लाग्ने



काठमाडौं । स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिरको सोमबार अनुष्ठान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको उपस्थिति उक्त मन्दिरको अनुष्ठान गरिएको हो । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वमा निर्माण गरिएको उक्त नवग्रह मन्दिरमा महाशिवरात्रीको अवसर पारेर फागुन ६ देखि १४ गते सम्म हरेक दिन अर्थात ९ दिनसम्म फरक फरक ग्रहको विशेष पुजा गरेर प्राणप्रतिष्ठा तथा अनुष्ठान गरिँदैछ ।

उक्त अवसरमा १ करोड २५ लाख दियो प्रज्वलन पनि गरिने भएको छ । १ सय ४४ वर्षमा परेको महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने भएकाले यस अवसरमा अनुष्ठान गर्नेगरी नवग्रह मन्दिरको निर्माण गरिएको अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले जानकारी दिए ।

विशेष गरी धार्मिक पर्यटनलाई जोड्नेगरी अर्जनचौपारीको वडा नम्बर १ मा उक्त नवग्रह मन्दिर निर्माण गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमीमा मन्दिर रहेको र पोखरा घुम्न आउने पर्यटकका लागि समेत उक्त मन्दिरले आकर्षित गर्ने तिवारीले जानकारी दिए । साथै पालिकालाई धार्मिक पर्यटनको हव बनाउने योजना अनुसार नवग्रह मन्दिर निर्माण गरिएको उनको दावी छ ।

हाल नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको आसामस्थित चित्रसाल पहाडमा मात्र छ । निर्माण हुँदै गरेको मन्दिर आसामको भन्दा फरक रहेको र मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । जहाँ २७ फिट माथि फर्केको अग्लो ब्रह्माणीय मुर्ती समेत निर्माण गरिएको छ । उक्त मन्दिरको दर्शन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने छ भने अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ पटक परिक्रमासहित पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएको भएपनि सिद्दिप्राप्त योगीहरूको सुझावअनुसार नवग्रह मन्दिर निर्माण गरिएको समेत उनले जानकारी दिए ।

नवभुज रहने पिलरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फिट अग्लो पिलर रहेको छ । पिलरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा छ ।मन्दिरमा रहेको ९ चक्रमध्ये एक चक्रमा भने अन्य दिनमा पनि पूजाआजा गर्न पाईने छ । तर अन्य समयमा भने उक्त मन्दिर शनिबार मात्र खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्