काठमाडौं । पछिल्लो करिव १ महिनादेखि विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य लगातार ओरालो लागिरहेको छ । गएको जनवरी १५ सम्म पछिल्लो बर्षकै उच्च अर्थात प्रति व्यारेल ८२ डलर आसपास पुगिसकेको ब्रेन्ट कच्चा तेलको मूल्य त्यसयता लगातार ओरालो लाग्दै ७४.८१ को आसपासमा पुगेको छ ।
खासगरी तेलको मूल्यमा उत्तारचढाव आउनुमा भूराजनीतिक कारणलाई मुख्य रुपमा लिइन्छ । त्यसमाथि पनि विश्वका ठुला तेल उत्पादक, विकसित राष्ट्र र तेल खरिदकर्ताहरुमा आएको सानो हलचलले पनि यसको मूल्यमा गहिरो प्रभाव पार्ने गरेको यसअघिका घटनाक्रमले देखाउँदै आएका छन् ।
पछिल्लो समय भने अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनलाई तेलको मूल्य घट्नुको पछाडिको प्रमुख कारणको रुपमा लिइएको छ । हाल कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ जसको मुख्य कारणहरू अमेरिकी उर्जा नीतिहरू, आपूर्तिमा आएको वृद्धि, अमेरिकी डलरको मजबुती, भूराजनीतिक स्थिरता, तथा युरोपेली अर्थतन्त्रमा देखिएको मन्दीको जोखिमसँग सम्बन्धित रहेको अर्थशास्त्रीहरु बताउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ उर्जा नीतिहरूले तेलको आपूर्तिमा वृद्धि ल्याएको छ, जसले तेलको मूल्य घटाउने क्रियाकलापमा प्रमुख प्रभाव पारेको बताईन्छ । ट्रम्प प्रशासनले स्वदेशी तेल तथा प्राकृतिक ग्यास उत्पादनलाई प्रर्वद्र्धन गर्दै अफशोर ड्रिलिङ प्रतिबन्ध हटाएको छ । साथै, अमेरिकी उर्जा सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोड्दै उत्पादन वृद्धिका लागि थप नीतिहरू लागू गरिरहेको छ । यसले छोटो अवधिमा तेलको आपूर्ति बढाउने भएकाले मूल्यमा दबाब परेको देखिन्छ ।
अमेरिकी डलरको मूल्य वृद्धि हुँदा पनि अन्य मुद्राहरूको तुलनामा तेल महँगो हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग घटेको देखिन्छ । हाल अमेरिकी डलर करिब ०.४ प्रतिशतले बढेर १०८.५३ को स्तरमा पुगेको छ, जसले तेल खरिद गर्न विदेशी राष्ट्रहरुका लागि लागि झनै महँगो बनाइरहेको छ ।
यता इजरायल र हमासबीच भएको युद्धविरामले पनि कच्चा तेलको मूल्य घट्नमा प्रभाव पारेको देखिन्छ । युद्धको कारण आपूर्ति प्रभावित हुनसक्ने आशंकाले विगतमा मूल्यमा उतारचढाव आईरहेको थियो । तर हालका घटनाक्रमले मध्यपूर्वबाट निर्यात सहज बनाइदिएको छ । यससँगै युरोपेली अर्थतन्त्रमा देखिएको सुस्तताले पनि तेलको मूल्यमा गिरावट ल्याएको छ । उच्च ब्याजदर, कमजोर औद्योगिक उत्पादन, तथा उपभोक्ता खर्चमा आएको कमीले तेलको माग घटाएको छ । यदि युरोप आर्थिक मन्दीमा गएको खण्डमा तेलको खपत अझै कम हुनेछ, जसले तेलको मूल्यमा थप दबाब पार्न सक्छ ।
साथै, अमेरिकी व्यापार नीति परिवर्तनले तेल बजारमा असर पार्ने देखिन्छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने तथा चीनमाथि १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । यसले अमेरिकी उपभोक्ता खर्च घटाउने सम्भावना रहेको छ, जसले तेलको मागलाई प्रभावित गर्न सक्छ । यदि अमेरिका र चीनबीच व्यापार वार्ता सहज भयो भने माग पुनः बढ्नसक्छ, तर हालको परिदृश्यमा तेलको मूल्य अझै घट्ने सम्भावना उच्च रहेको विज्ञहरु बताउँदै आएका छन् ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुका अन्य कारणहरू
हालै विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुमा अमेरिकी नीति प्रमुख कारण भएपनि त्यससँगै जोडिएका अन्य कारणहरु पनि उत्तिकै महत्वपूर्ण हुन आउँछन् । विश्वव्यापी आर्थिक गतिविधिमा आएको सुस्तता, तेलको आपूर्ति वृद्धि, पेट्रोकेमिकलको कमजोर माग, उच्च भण्डारण स्तर, अमेरिकी शेल तेल उत्पादनको विस्तार तथा भूराजनीतिक स्थिरता जस्ता विभिन्न कारकहरू यस घट्दो प्रवृत्तिका कारण बनेका छन् । यी सबै तत्वहरूले मिलेर बजारमा आपूर्ति बढी तर माग कम हुने स्थिति सिर्जना गरेका छन्, जसले गर्दा कच्चा तेलको मूल्यमा लगातार दबाब देखिएको छ ।
विश्वव्यापी तेलको माग कमजोर खस्किनु
कच्चा तेलको मूल्य घट्नुको एक प्रमुख कारण विश्वव्यापी मागको सुस्तता हो । विशेषगरी चीनको आर्थिक वृद्धिमा आएको सुस्तताले तेलको खपतमा असर पुर्याएको छ । चीन विश्वको दोस्रो ठूलो तेल उपभोक्ता हो, र यसको आर्थिक गतिविधि कमजोर हुँदा तेलको मागमा गिरावट आउँछ । चीनमा रियल इस्टेट क्षेत्रसँगै उद्योग तथा उत्पादन क्षेत्र पनि कमजोर देखिएको छ । महामारीपछिको पुनरुत्थान अपेक्षित गतिमा अघि बढ्न सकेको छैन, जसका कारण तेलको माग उच्च हुन सकेको छैन । साथै, अन्य प्रमुख अर्थतन्त्रहरू-युरोपियन युनियन र अमेरिकामा पनि उच्च ब्याजदर, कमजोर औद्योगिक उत्पादन र सुस्त उपभोक्ता खर्चका कारण तेलको माग अपेक्षाकृत कम छ ।
तेलको आपूर्ति वृद्धि हुनु
तेलको मूल्य घट्ने अर्को प्रमुख कारण उत्पादन र आपूर्तिमा आएको वृद्धि हो । पछिल्लो समय एसिया र मध्यपूर्वका देशहरूले नयाँ तेल र पेट्रोकेमिकल परियोजनाहरू सञ्चालनमा ल्याएका छन्, जसले गर्दा विश्व बजारमा तेलको आपूर्ति थपिएको छ । उदाहरणका लागि, भारतमा पेट्रोकेमिकल उत्पादनमा ठूलो लगानी भइरहेको छ । भारत सरकार र निजी क्षेत्रका ठूला कम्पनीहरू, जस्तै नायरा इनर्जी हल्दीया पेट्रोकेमीकल र ओएनजीसी उत्पादन क्षमता विस्तार गर्नमा केन्द्रित छन् । साथै, मध्यपूर्वका देशहरू विशेषगरी साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पनि उत्पादन विस्तार गरेका छन् । यसरी आपूर्ति बढ्दै जाँदा, बजारमा तेलको उपलब्धता बढ्छ, जुन मागभन्दा बढी हुँदा मूल्य घट्न पुग्छ ।
प्रशोधन नाफा घट्नु
तेलको मूल्य घट्नुको अर्को कारण भनेको पेट्रोकेमिकल उत्पादनमा आएको नाफा ह्रास हो । पेट्रोकेमिकल उत्पादनका लागि आवश्यक कच्चा तेल र अन्य हाइड्रोकार्बनहरूको माग कमजोर हुँदा, प्रशोधन मार्जिनहरू कम भएका छन् । अघिल्लो वर्षहरूमा, पेट्रोकेमिकल उद्योगबाट राम्रो नाफा हुने गथ्र्यो, जसले गर्दा तेलको मूल्य उच्च रहन्थ्यो । तर हाल, पेट्रोकेमिकल उत्पादनको लागत बढ्दा र बजार माग घट्दा, शोधन उद्योगका कम्पनीहरूलाई फाइदा कम भएको छ । यसले गर्दा तेल उत्पादक कम्पनीहरूले उत्पादन दर घटाउने वा मूल्य घटाएर बजारमा प्रतिस्पर्धा गर्ने रणनीति अपनाएका छन् ।
उच्च भण्डारण
तेलको मूल्य घट्नुको अर्को महत्वपूर्ण कारण भनेको विश्व बजारमा तेलको भण्डारण उच्च स्तरमा रहनु हो। जब माग सुस्त हुन्छ र आपूर्ति उच्च रहन्छ, तब तेल भण्डारण बढ्दै जान्छ । उदाहरणका लागि, चीनले आफ्नो रणनीतिक भण्डारणका लागि अघिल्लो वर्षहरूमा धेरै तेल खरिद गरेको थियो । तर हाल उसको उद्योग तथा उपभोक्ता माग अपेक्षाकृत कम भएको कारण ती भण्डारणहरू अझै प्रयोग भइसकेका छैनन् । यसले गर्दा नयाँ तेल खरिदमा कमी आउँछ, जसले मूल्यलाई अझै दबाबमा पार्छ । त्यस्तै, अमेरिका र युरोपका तेल गोदामहरू पनि उच्च भण्डारणको कारण नयाँ खरिदको दर घटाइरहेका छन्, जसले बजारमा मूल्य घटाउने काम गरिरहेको छ ।
अमेरिकी उत्पादनको वृद्धि
अमेरिका हाल विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मुलुक बनिसकेको छ । उसको शेल तेल उद्योग पछिल्लो दशकमा निकै अगाडि बढेको छ, जसका कारण अमेरिका आफ्नो उत्पादन निरन्तर रूपमा बढाइरहेको छ । शेल तेल उत्पादन प्रविधि सुधारिएपछि अमेरिकी कम्पनीहरू प्रतिस्पर्धात्मक रूपमा सस्तो मूल्यमा तेल उत्पादन गर्न सक्षम भएका छन् । यसले गर्दा अन्य देशहरूले तेलको आपूर्ति कटौती गर्दा पनि, अमेरिकी तेल बजारमा उपलब्ध भइरहन्छ, जसले मूल्यलाई तल झार्छ । विशेष गरी, अमेरिका हाल युरोप र एसियामा तेल निर्यात गरिरहेको छ । जसले गर्दा विश्व बजारमा तेलको आपूर्ति सन्तुलन गुमेको छ र मूल्य ओरालो लागेको छ ।
भूराजनीतिक स्थिरता
अन्तर्राष्ट्रिय भूराजनीतिक घटनाक्रमहरू पनि कच्चा तेलको मूल्यमा प्रभाव पार्ने प्रमुख तत्वहरू मध्ये एक हुन् । जब कुनै ठूलो भूराजनीतिक संकट आउँछ—जस्तै युद्ध, प्रतिबन्ध, वा ओपेक प्लसको आपूर्ति कटौती—तेलको मूल्य बढ्ने गर्छ । तर हालको अवस्थालाई हेर्दा, सबै युद्धहरु साम्य हुने दौडमा भएकाले कुनै ठूलो संकट देखिएको छैन जसले तेलको आपूर्ति प्रभावित पार्न सक्छ । मध्यपूर्वमा यद्यपि तनाव छ, तर ठूला तेल उत्पादक देशहरू अझै स्थिर आपूर्ति गरिरहेका छन् । त्यस्तै, रुस–युक्रेन युद्धको सुरुवाततामा तेलको मूल्य उच्च भए पनि, पश्चिमी मुलुकहरूले रुसबाट तेल आयात गर्ने वैकल्पिक मार्गहरू पत्ता लगाएका छन् । जसका कारण अहिले ठूलो मूल्य वृद्धिको सम्भावना देखिँदैन ।
नेपालमा प्रभाव ?
पछिल्लो समय विश्वबजारमा कच्चा तेलको मूल्य बढिरहेपनि नेपालमा प्रशोधित तेल आपुर्ति गर्ने भारतीय कम्पनी इन्डीयन आयल निगमले नेपालमा भने बढेकै मूल्यमा तेल पठाउँदै आएको छ । नेपालले तेल आयात गरेर खपत गर्ने हुनाले आयातको मूल्यका आधारमा तेलको मूल्य थपघट हुने गरेको छ । पछिल्लो समय भने गत शुक्रबार मात्रै नेपाल आयल निमगले तेलको मूल्यमा समायोजन गरेको थियो । यसअघि प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसामा विक्री भईरहेको पेट्रोलको मूल्य १ रुपैयाँले बढाएर १ सय ६५ रुपैयाँ ५० पैसा पुर्याएको थियो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ४ रुपैयाँले घटाउँदै १ सय ५३ रुपैयाँ ५० पैसा कायम गरेको थियो । त्यसअघि नेपालमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको थियो ।
निगमका अनुसार हालै भारतीय आयल निगमले नेपाललाई पेट्रोलमा प्रतिलिटर ०.५८ रुपैयाँ बढाएर र डिजेल मट्टितेलमा ३ रुपैयाँ ५९ पैयाँ घटाएर पठाएको थियो । अब भने विश्वबजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेसँगै नेपालमा पनि यसको प्रभाव देखिने निगमका एक उच्च अधिकारीले बताए । उनका अनुसार भारतीय आयल निगमले कच्चा तेलको मूल्य घटेसँगै प्रशोधित तेलको मूल्य पनि घटाउने गरेको छ । सोहीअनुसार नेपालले पनि घटेको मूल्यमा तेल पाउने गरेको छ । आगामी दिनमा विश्वबजारको मूल्य प्रवृत्तिलाई हेर्दा नेपालमा घटेर आउने देखिएको उनले बताए ।