Logo

सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्टको नाममा गैरकानूनी धन्दा : राज्यको कर छली, कालोधनको शुद्धिकरण

सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्टको नाममा गैरकानूनी धन्दा : राज्यको कर छली, कालोधनको शुद्धिकरण

तालिमको नाममा बजार म्यानुपुलेट



काठमाडौं । पोर्टफोलियो म्यानेजमेन्टका नाममा गैरकानूनी धन्दा मौलाउन थालेको छ । लामो समयदेखि विना इजाजत गैरकानूनी रुपमा पोर्टफोलियो म्यानेजको काम गर्दै आएपनि सो विषयमा नियामक निकायले छानविन गरी कारबाहीको दायरामा नल्याउँदा त्यसको जालो झन बढ्दै गएको हो ।

बैधानिक रुपमा पोर्टफोलियो म्यानेजमेन्टका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इजाजत दिनुपनर्छ । अहिलेको अवस्थामा मर्चेन्ट बैंकरको इजाजत पाएका संस्थाले मात्रै पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पीएमएस) को रुपमा काम गर्न पाउँछन । तर, पछिल्लो सयम सेबोनबाट कुनै इजाजत नलिई प्राइभेट कम्पनीहरुले गैरकानूनी रुपमा उक्त सेवा दिने क्रम उच्च रुपमा बढेको हो ।

हाल थुप्रै प्राइभेट कम्पनीहरुले विना इजाजत आम सर्वसाधारणको फन्ड कलेक्सन गरेर अर्बौं रुपैयाँको कारोबार गर्दै आएका छन् । आम जनतालाई भ्रम सिर्जना गर्दै अत्यधिक मुनाफा गराइदिदिने भन्दै अवैधरुपमा रकम संकलन गरेर पुँजी बजारमा लगाउने काम भइरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘जसरी पहिला सहकारी खुलेको थियो त्यसैगरी अहिले आम जनताको पैसा संकलन गरेर पोर्टफोलियो म्यानेज गर्ने भन्दै प्राइभेट कम्पनीहरु खुलिरहेका छन्,’ एक लगानीकर्ताले भने, ‘अहिले यसरी गैरकानूनी रुपमा पोर्टफोलियो म्यानेज गर्नेमा केही क्यापिटल मर्चेन्टका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि सेयर बजारमा स्क्याण्डल खडा गरी भ्रम सिर्जना गर्ने व्यक्तिहरु लागिपरेका छन् ।’

धितोपत्र बोर्डले करिव ३ वर्ष अघि कम्पनी खडा गरी गैरकानूनी रुपमा आम जनतासँग फण्ड कलेक्सन गरेको आरोपमा डा. केशव श्रेष्ठ नेतृत्वको लक्ष्य होल्डिङ लिमिटेड र दीपेन्द्र अग्रवाल नेतृत्वको गोल्डमेन इन्भेस्टमेन्ट कम्पनी माथि छानविन गरी मुद्दा चलाएको थियो । सेबोनकै पत्रका आधारमा नेपाल राष्ट्र बैंकले यी दुबै कम्पनीको बैक खाता समेतले रोक्का राखेको छ । सो विषयमा अझै छिनोफानो भैसकेको छैन ।

तर पछिल्लो समय कम्पनी खडा गर्दै विना इजाजत पोर्टफोलियो म्यानेजको नाममा फण्ड कलेक्सन हुँदा त्यसले सेयरको दोस्रो बजारमा कालोधन (स्रोत नखुलेको अवैध रकम)को प्रवेश हुनुका साथै सरकारलाई तिनुपर्ने राजस्व समेत चुहावट भैरहेको सम्बद्ध विज्ञहरु बताउँछन् । कतिपय व्यक्तिहरुले आफुले गैरकानूनी गतिविधिबाट आर्जन गरेको सम्पत्तिलाई बैध बनाउनकै लागि गैरकानूनी रुपमा पोर्टफोलियो म्यानेज गर्दै आएका व्यक्ति तथा संस्थाको साहाराबाट सेयरको दोस्रो बजारमा पैसा प्रवेश गराएर शुद्धिकरण गर्दै आएको समेत भेटिएको छ । ‘यदि नियामक निकायबाट इजाजत लिएर फण्ड कलेक्सन तथा पोर्टफोलियो म्यानेज गरियो भने त्यसको अनुगमन तथा नियमन हुन्छ भने त्यस्ता कम्पनीले गैरकानूनी गतिविधि गर्न सक्दैनन्,’ ती विज्ञले भने, ‘अहिले निजी कम्पनी वा व्यक्तिले जसरी सामूहिक र सामाजिक संजालबाट होहल्ला गर्दै आम जनताबाट सहजरुपमा फण्ड कलेक्सन गरिरहेका छन् त्यसले राज्यलाई कर तिर्दैनन् भने स्वार्थ समुहको मिलेमतोको सेयरको दोस्रो बजारमा कालोधनलाई समेत सहजै प्रवेश गराउँदै आएका छन् ।’

पोर्टफोलियो म्यानेज तथा सो सम्बन्धी लगानीका लागि सेबोनले स्वीकृति दिनुपर्ने हुन्छ । तर, विना स्वीकृति लगानी गरिँदा त्यसको तथ्यांक सेबोनमा हुँदैन भने भोलिका दिनमा कसले कसरी काम गरिहेको छ भन्ने कुनै रेकर्ड हुन्न । तसर्थ यसरी गरिने अवैध कार्यलाई बोर्डले तत्काल छानविन गरी कानूनी दायरामा ल्याउनुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले प्राइभेट कम्पनीका नाममा पोर्टफोलियो म्यानेज गर्दा कालोधनलाई सेयर बजारमार्फत सेतो बनाउनका लागि सम्पत्ति शुद्धीकरणको जिम्मा लिएरसमेत केही प्राइभेट कम्पनीले काम गरिरहेका छन्,’ एक लगानीकर्ताले भने, ‘सम्पत्ति शुद्धिकरणको मामिलामा गम्भीर नएको भन्दै सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई नकारात्मक सूची (ग्रे लिस्ट) मा राख्दैछ, यदि सेयर बजारमार्फत हुने गैरकानूनी गतिविधिलाई छानविन गरी तत्काल कारबाहीको दायरामा नल्याउने हो भने देशलाई इमेजमाथि थप गम्भीर धक्का पुग्नेछ ।’ अहिले त्यस्ता काम गर्ने व्यक्ति वा कम्पनीले कार्यालय नै खोलेर सफ्टवेयर समेत राखेर मार्केटिङ गर्दै आएका छन् । तसर्थ अबका दिनमा सेबोनले यस्ता अवैध कार्य रोक्न वा सर्वसाधारण लगानीकर्तालाई अवैध कम्पनीसँग कारोबार नगर्नका लागि सजह गराउनुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

गैरकानूनी रुपमा सामाजिक सञ्जालमार्फत सेयर तालिम

कुनै पनि तालिम दिनका लागि सो सम्बन्धी विज्ञ हुनुपर्छ भने त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ । अझ सेयर बजारजस्तो सेन्सेटिभ क्षेत्रको तालिम दिनका लागि अनुमित लिनु अनिवार्य रहन्छ । तर लामो समयदेखि विना इजाजत कम्पनी खडा गरेर तथा सामाजिक संजालबाट सेयर बजार सम्बन्धी तालिम प्रदान गर्नुका साथै कुन स्क्रिप्ट किन्ने भन्नेसम्मको जानकारी दिइदै आएको छ ।

अझै कपितय व्यक्तिले सामाजिक सञ्जालमार्फत सेयर तालिम लिन चाहने व्यक्तिका लागि फारम उपलब्ध गराउँदै आफुखुशी तालिम दिँदै आएका छन् । उनीहरुले आफु अनुकुल शुल्क तोकेर आफु अनुकुलकै तालिम दिँदै आएका छन् । साथै बजारमा म्यानुपुलेट गर्ने कतिपय व्यक्तिले भोलि कुन स्क्रिप्ट किन्ने, कति किन्ने भन्ने सम्मका विषयमा जानकारी गराउँदै आएका छन् । यदि अबका दिनमा त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा नल्याउने हो भने त्यसले समग्र पुँजी बजारलाई असर पुर्याउनुका साथै सेयर बजारलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्ययम बनाउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘संगठित रुपमा कुनै पनि तालिम दिनका लागि त्यसको पाठ्यक्रम तयार गरिनुपर्छ भने त्यसलाई सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ,’ एक कानूनविद्ले भने, ‘तर नेपालमा सेयर बजारजस्तो सेन्सेटिभ क्षेत्रमा विना इजाजत र विना स्वीकृति तालिम दिएर लगानीकर्तालाई फसाउने काम भैरहेको र सो विषयमा सेबोनले तत्काल एक्सन लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्