Logo

स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिरको मंगलबार अनुष्ठान, प्राथमिकतामा धार्मिक पर्यटन

स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिरको मंगलबार अनुष्ठान, प्राथमिकतामा धार्मिक पर्यटन



काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान गरिने भएको छ । अर्जुनचौपारी गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वमा निर्माण गरिएको उक्त नवग्रह मन्दिरको मंगलबार प्राणप्रतिष्ठा तथा अनुष्ठान गरिने भएको हो ।

नेपालकै पहिलो नवग्रह मन्दिरको महाशिवरात्रीको अवसर पारेर फागुन ६ देखि १४ गते सम्म हेरक दिन विशेष पुजा गरेर प्राणप्रतिष्ठा तथा अनुष्ठान गरिने अध्यक्ष तिवारीले जानकारी दिए । उनका अनुसार अवसरमा १ करोड २५ लाख दियो प्रज्वलन गरिने भएको छ । १ सय ४४ वर्षमा परेको महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने भएकाले यस अवसरमा अनुष्ठान गर्नेगरी नवग्रह मन्दिरको निर्माण गरिएको तिवारीले जानकारी दिए ।

विशेष गरी धार्मिक पर्यटजलाई जोड्नेगरी अर्जनचौपारीको वडा नम्बर १ मा उक्त नवग्रह मन्दिर निर्माण गरिएको समेत उनले जानकारी दिए । ‘अहिले धर्मसँगै पर्यटनको विस्तार भइरहेको छ,’ उनले भने, ‘यो नेपालकै पहिलो नवग्रह मन्दिर हो तसर्थ उक्त मन्दिर दर्शन आउने भक्तजनले उक्त गाउपालिकाभित्र पर्यटन प्रवद्र्धन गर्ने छ ।’ गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमीमा मन्दिर रहेको र पोखरा घुम्न आउने पर्यटकका लागि समेत उक्त मन्दिरले आकर्षित गर्ने तिवारीले जानकारी दिए । साथै पालिकालाई धार्मिक पर्यटनको हव बनाउने योजनानुसार नवग्रह मन्दिर निर्माण गरिएको उनको दावी छ ।

हाल नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको आसमस्थित चित्रसाल पहाडमा मात्र छ । निर्माण हुँदै गरेको मन्दिर आसमको भन्दा फरक रहेको र मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । जहाँ २७ फिट माथि फर्केको अग्लो ब्रह्माणीय मुर्ती समेत निर्माण गरिएको छ । उक्त मन्दिरको दर्शन प्रत्येक वर्षको गणेश चतुर्दशीमा मात्र गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने छ भने अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ पटक परिक्रमासहित पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएको भएपनि सिद्दिप्राप्त योगीहरूको सुझावअनुसार नवग्रह मन्दिर निर्माण गरिएको समेत उनले जानकारी दिए ।

नवभुज रहने पिलरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फिट अग्लो पिलर रहेको छ । पिलरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय ९ग्रह० को प्रतिमा छ ।मन्दिरमा रहेको ९ चक्रमध्ये एक चक्रमा भने अन्य दिनमा पनि पूजाआजा गर्न पाईने छ । तर अन्य समयमा भने उक्त मन्दिर शनिबर मात्र खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्