काठमाडौं । त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ । बिहीबार सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ ।
सहरी विकास मन्त्रालयले ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लड लाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको छ । प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र स्वीकृत भएको हो ।
यसअघि प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि त्रिवि मैदानको स्तरोन्नति गर्ने निर्णय गरेका थिए । उनले ३०० दिनभित्र सबै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालयमातहत नै थियो । कानुनी अड्चनबिच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम अघि बढाएको हो ।
नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो। पछिल्लो समय नेपालले टी–२० विश्वकप र एकदिवसीय विश्वकप खेलेपछि नेपाली क्रिकेटको चर्चा सर्वत्र छ । तर, सरकारले नै बनाउन थालेको मूलपानी तल्लो क्रिकेट मैदानले एक दशक पार गरे पनि अझै पूर्ण हुन सकेको छैन । मैदानको आधा भागको काम अझै बाँकी छ ।