काठमाडौं । काठमाडौं आज (बिहीबार) विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ । जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ ।
आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा १ नम्बर सूचीमा छ । चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ । विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ । पोर्टलका अनुसार बुधबार बिहान ७ः५३ दाङको एक्युआइ २६०.३६ पुगेको थियो। अहिले बिहान ११ बजे पोखराको एक्युआइ २४४.२१ पुगेको थियो ।
चितवनको भरतपुरमा बिहान १०ः४३ बजे १६५.०८, काठमाडौंको शंखपार्कमा बिहान १०ः५९ बजे १६१.८४ पुगेको थियो। विपद् पोर्टलकै अनुसार धनगढी, ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंको रत्नपार्कको वायुको गुणस्तर कमजोर छ । एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ ।
पूर्व–पश्चिम, पृथ्वी राजमार्ग, सूर्यविनायक, धुलिखेल, बिपी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। ती राजमार्गमा सडक चौडा पार्ने र पूर्वाधार बनाउने काम भइरहेकाले धुलो उड्दा वायु प्रदूषण भइरहेको छ। काठमाडौं उपत्यकाभित्रै पनि तार भूमिगत गर्ने, फुटपाथ बनाउने लगायतका काम भइरहेकाले वायु प्रदूषणलाई सघाएका छन् । हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ। यसका अलावा बन डढेलोका घटना पनि बढेका छन् । यी कारणले विभिन्न सहरको वायुको गुणस्तर अत्यन्तै कमजोर बनेको हो ।