Logo

डेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता

डेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता



काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बिहीबार आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।” उनले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताए ।

उहाँले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताए । उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिए । उनले रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताए ।

उनले भने, ‘नेपाल सरकारले लगानी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि र सुरक्षा दिनको लागि थप योजना बनाइरहेको छ । भर्खरै सरकारले व्यवसायलाई बढावा दिनको लागि र थप लगानीको वातावरण तयार गर्नको लागि अध्यादेशको जारी गरेको छ । थप आवश्यक कानूनहरु बनाउनका लागि हामीले ति अध्यादेशहरु संसदमा पेस गरेका छौं ।लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि बन्दै गरेको ऐनले ठूलो मद्दत पुग्ने छ । लगानीको सुरक्षा गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ ।

विशेषगरी रारा क्षेत्रमा रहेका समस्याहरुका लागि हामीले खानेपानी समस्या समाधान गर्नको लागि केही कुराहरु गरेका पनि छौं । आगामी आर्थिक वर्षको बजेटमा पनि हामी जेजति गर्न सकिन्छ हामी गर्छौं नै । पूर्वाधार निर्माणमा स्थानीय स्रोत र साधनले बढी प्राथमिकता पाउने अवस्था बन्दै गएको छ । त्यसकारण बन्दै गरेको रिसोर्ट वातावरणमैत्री हुनेछ ।कर्णाली करिडोर र कर्णाली राजमार्गहरु कच्ची बाटोको रुपमा प्रयोग भइरहेका छन् । त्यहाँ जाने मान्छे अत्यन्त कष्टपूर्ण महसुश गर्नुहुन्छ ।

आगामी वर्षमा नेपाल सरकार तीन तहकै सरकारको सहकार्यमा रारासँग पर्यटकको सहज पहुँचको लागि पिच गर्ने योजना बनाइरहेका छौं । ताल्चा एयरपोर्ट, जुम्ला एयरपोर्ट र बाजुरा एयरपोर्टको स्तरोन्नती गर्छौं ।’ उनले नेपालका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत नीजि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गरे ।

मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ । मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ ।

दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिने सञ्चालक अभिषेक विक्रम शाहले बताए । शाहले रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्