काठमाडौं । नेपाल र भारतका उर्जा सचिवहरूले १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति गरेका छन् ।
भारतको नयाँ दिल्लीमा बसेको दुई देशका ऊर्जा सचिवहरूको बैठकले आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति गरेका हुन् ।
नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ । ऊर्जा विकास मार्गचित्र तथा कार्यान्वयन योजना–२०८१ मा सन् २०३५ सम्म भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ ।
![](https://www.bizkhabar.com/wp-content/uploads/2025/02/nepal-india-768x421.jpg)
माघ ९ मा बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठकले गरेको सहमतिलाई नै सचिवस्तरीय बैठकले अनुमोदन गरेको हो । दुवै देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठक मंगलबार नयाँदिल्लीमा बसेको हो । बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने गरेको हो ।
दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत सहमति भएको छ । यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुनेछ ।
कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने छ ।
संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रक्रिया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ । बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । अहिले नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।
यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति हुँदै आएकोमा क्षमता विस्तार गरी एक हजार मेगावाट आपूर्ति गर्न सक्षम बनाइने सहमतिमा उल्लेख छ । यसबाहेक चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ । नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बंगलादेशमा पनि निर्यात गर्ने उद्देश्य राखेको छ ।
यसैगरी, बैठकले ऊर्जा सचिवस्तरीय बैठकले ४०० केभी निजगढ–मोतीहारी र कोहलपुर–लखनऊ प्रसारण लाइनको अध्ययन प्रतिवेदन तयार गरी सन् २०३४/०३५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । २२० केभी चमेलिया (नेपाल)–जलजिबी (भारत) प्रसारण लाइनको अध्ययन आगामी मार्चमा सकाउने र सन् २०२७ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउनेसमेत सहमति भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको तार (कन्डक्टर) परिवर्तन गर्नेसमेत सहमति भएको छ । तार फेरिएपछि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता दोब्बर हुनेछ ।