काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबै जनप्रतिनिधिले स्थानीय कोही पनि केबलकारको विपक्षमा नरहेको भन्दै आन्दोलन गर्नेहरूका कारण राजनीतिकरण भएको बताएका छन् । नगरपालिकाका मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्यक्षले आन्दोलनकारीलाई वार्ताबाट नभाग्न आग्रहसमेत गरेका छन् । सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस सहभागी भएकाले वार्ता सफल नभएको उनीहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा स्थानीय तहलाई केबलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको मेयरले प्रयोग गरेको बताउँदै मेयर मादेनले आफूले भने त्यसको नवीकरण गरिदिएको बताए । उनले केबलकारको विषयमा राजनीति मिसिएको बताउँदै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने समेत बताएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित केबलकार आयोजना प्रभावित क्षेत्रका सबै वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप भएको बताएका थिए । नगर प्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उनले बताए ।
स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवद्र्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताए । उनले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पुर्याउन आग्रह गरे । उनले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताए । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उनले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गरे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ ।
मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् । यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।