काठमाडौं । सरकारले अर्थ सचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
अर्थ सचिवको जिम्मेवारी पाएका उपाध्यायसँग विभिन्न कर कार्यालय तथा अर्थ संरचनामा काम गरेको अनुभव छ । सहसचिवसम्म अर्थ मन्त्रालय अन्तगर्त रहेर काम गरेका उपाध्याय सचिव भएपछि भने श्रम मन्त्रालय हुँदै अख्तियार पुगेका थिए ।
ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर काम गरेको अनुभवसमेत भएका उपाध्याय २०८० को असारमा सचिवमा बढुवा भएका थिए ।