काठमाडौं । सामान्यतया प्राइभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल (पीईभीसी) को विश्वव्यापी मान्यता समस्यामा परेका वा व्यवसाय विस्तार गर्न चाहने कम्पनीमा इक्विटी हालेर त्यसलाई राम्रोसँग संचालन गर्ने तथा स्टार्टअपहरुमा लगानी गरेर त्यसबाट प्रतिफल निकाल्ने हो । सोहीअनुरुप अतिरिक्त पुँजी जुटाउनका लागि नेपालमा पनि नेपाल धितोपत्र बोर्डले पीईभीसीको लाइसेन्स दिएको थियो । तर, पछिल्लो समय पीईभीसीको नाममा आन्तरिक मिलेमतोमा सट्टेबाजी बढ्न थालेको छ । अझ भनौं पुँजी बजारलाई नै जुवाघरमा परिणत गर्नेगरी आईपीओको पाइपलाईनमा रहेका कम्पनीमा भाउ बढाबढमा लगानी गर्ने र एक वर्षपछि उक्त कम्पनीको सेयर कर्नरिङ गर्दै मूल्य बढाएर बजारबाट बाहिरिने रणनीति पीईभीसीहरुले अबलम्बन गरेका छन् ।
कुनै ठूला परियोजना निर्माण गर्न परेमा पीईभीसीले फण्ड रेज गरेर लगानी गर्छन । तर, पछिल्लो समय धितोपत्र बोर्डबाट लाईसेन्स लिएका पीईभीसीको उद्देश्य नै आईपीओ आउन लागेका कम्पनीमा भाउ बढाबढ वा सट्टेबाजीमा सेयर किन्ने अनि एक वर्षभित्र लो क्यापको नाममा सेयर मूल्य बढाएर दोस्रो बजारबाट पैसा उठाएर कम्पनीबाटै बाहिरिने बनेको छ । सामान्यतया पीईभीसीले गर्ने लगानी संस्थापक सेयर मै हो । तर, धितोपत्र बोर्डले पीईभीसीलाई प्रवद्र्धन गर्न तथा लगानी जुटाउन सहज होस भन्ने उद्देश्यले संस्थापक सेयरमा गरेको लगानी पनि आईपीओ आएको एक वर्ष भित्र बिक्री गरेर बाहिरिन मिल्ने कानूनी व्यवस्था गरिदियो ।
अहिले पीईभीसीले त्यसलाई हतियारका रुपमा प्रयोग गर्दै सट्टेबाजी गर्न थालेका छन् । ‘अहिले आईपीओ ल्याउने कम्पनीका संचालक र पीईभीसीका संचालकहरु एक आपसमा मूल्यमा सट्टेबाजी गर्छन,’ एक पीईभीसीका प्रवद्र्धकले भने, ‘एक वर्ष भित्र वा २÷४ महिनामा आईपीओ ल्याउने र लो क्याप सेयरको मूल्य उच्च बढाएर बिक्री गरेर बाहिरिन पाइने भन्दै नेटवर्थ १ सय रुपैयाँ पनि नभएका कम्पनीको सेयरलाई २ सय देखि ३ सयसम्म थप प्रिमियम हालेर पीईभीसीले किनिरहेका छन् ।’
अहिले जसरी पीईभीसीले आफ्नो उद्देश्यविपरित गएर आईपीओ आउने कम्पनीमा मात्रै लगानी गरेर एक वर्षभित्र उक्त सेयर बिक्री गरेर बाहिरिने उद्देश्य बनाएका छन् त्यस विषयमा नियामक निकाय धितोपत्र बोर्डले अनुगमन गर्नुपर्ने एक पीईभीसीका लगानीकर्ताले बताए । ‘यदि आन्तरिक मिलेमतोमा आईपीओको पाईपलाईनमा रहेका कम्पनीमा पीईभीसीलाई उच्च प्रिमियम मूल्य हालेर सेयर खरिद गर्न दिने हो भने भोलिका दिनमा यसले सेयरको दोस्रो बजारलाई नै जुवाघर बनाउन निश्चित छ,’ ती लगानीकर्ताले भने, ‘यदि पीईभीसीलाई उसको उद्देश्यअनुसार संचालन गर्न लगाउने हो भने आईपीओ आउन लागेका कम्पनीमा लगानी गर्न वा प्रिमियम मूल्यमा सेयर खरिद गर्न रोक लगाउनु पर्छ ।’ पीईभीसीले समस्यामा परेका कम्पनीको कम मूल्यमा सेयर खरिद गरेर त्यसलाई नाफामा लगेर बाहिरिनुपर्ने हो । तर अहिले ठीक त्यसको विपरित एक वर्षभित्रै दोब्बर नाफा कमाउने धन्दामा आईपीओको लागि आवेदन दिने तयारीमा रहेका कम्पनीमा अनावश्यक रुपमा लगानी गर्दै आएको सम्बद्ध सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
पीईभीसीले उसको उद्देश्य अनुसार प्राइभेट इक्विटी र भेञ्चार क्यापिटल गरी दुई खण्डमा लगानी गर्नुपर्ने हुन्छ । जसमा स्टार्टअपको प्रर्वद्धनलाई उच्च प्राथमिकता दिइएको छ । तर नेपालमा संचालित पीईभीसीले स्टार्टअपलाई वेवास्ता गरी प्राइभेट इक्विटीमा मात्रै लगानी गरिरहेका छन् । तसर्थ अबका दिनमा नियामक निकायले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा गरिने लगानीको अनुपात नै तोकेर भेञ्चर क्यापिटलमा अनिवार्य लगानी गर्नुपर्ने कानूनी व्यवस्था गरिनुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।