Logo

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण : मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति, दुईजना कार्यालय सहयोगी प्रहरी नियन्त्रणमा

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण : मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति, दुईजना कार्यालय सहयोगी प्रहरी नियन्त्रणमा



काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ । मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिद्युतीय सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । मन्त्रीका सचिवालयका कर्मचारीले विगतमा पनि कार्यकक्षमा तारहरु जलेर गनाउने गरेको बताएका छन्। प्रहरीले दुई जना कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ । यस्तै, सुरक्षागार्डसँग सोधपुछ र सिसी क्यामेरा हेरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिंहदरबारमा कार्यरत डीएसपी दिनेश घिमिरेले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए । आगलागीबाट मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति भएको छ । मन्त्रीकक्षका चारवटै कोठा अगलागीबाट पूर्णरुपमा जलेको छ । प्रहरी वृत्त, अनामनगरले क्षतिको विवरण संकलन गरी मुचुल्का बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्