Logo

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी



काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परियोजना निर्देशक इन्जिनियर ज्ञानेन्द्र कुमार झाका अनुसार सुरुङ मार्ग निर्माण अन्तर्गतका मुख्य कामहरू सम्पन्न हुँदै अन्तिम चरणमा पुगेको हो । मुख्य सुरुङ र सहायक सुरुङ खन्ने कार्य भने सम्पन्न भइसकेको छ भने यसमा हालिने कंक्रिट लाइनिङको कार्य पनि हालसम्म २ हजार ८ सय ११ मिटर पूरा भईसकेको छ ।

मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटरको खन्ने काम सम्पन्न भइसकेको छ । जसको ब्रेकथ्रु २०२४ अप्रिल १५ मा भएको थियो । उद्धार सुरुङ २ हजार ५ सय ५७ मिटरको खनाइ पनि पूरा भइसकेको आयोजनाले जानकारी दिएको छ । यसको ब्रेकथ्रु भने २०२३ अगस्ट ७ मा भएको थियो ।

आयोजनाका अन्य संरचनाहरू अन्तर्गत तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीन वटा पुलको निर्माण कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण कार्य अन्तिम चरणमा रहेको छ जसमा ९५ प्रतिशत जग्गा मुआब्जा वितरण सम्पन्न भइसकेको छ भने स्टिल गर्डर निर्माण र डेक स्ल्याब कंक्रिटिङ कार्य पूरा भइसकेको आयोजनाले जानकारी दिएको छ । हाल पारापेट निर्माण कार्य जारी रहेको छ ।


सडक सतह निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । हालसम्म कुल ६ हजार ४ सय ७२ दशमलव २७ मिटरमध्ये ३ हजार १ सय ६५ दशमलव १८ मिटरमा पेभमेन्टको काम सम्पन्न भइसकेको छ । मुख्य सुरुङ मार्गमा एक हजार ७ सय ७ दशमलव ७ मिटर, जेआरसीपी खण्डमा ५ सय ८० दशमलव १ मिटर र आरसीपी खण्डमा ८ सय ७७ दशमलव ६ मिटर पेभमेन्ट सम्पन्न भइसकेको छ । समग्रमा हालसम्म पेभमेन्टको काम ४८.९० प्रतिशत काम पूरा भइसकेको छ भने ५१.१० प्रतिशत काम अझै बाँकी छ ।

परियोजनाको वित्तीय प्रगति ७६.६८ प्रतिशत रहेको छ, जुन २०२४ डिसेम्बरको अन्त्यसम्मको तथ्यांक हो । परियोजनाको बाँकी कार्यहरू द्रुत गतिमा अघि बढिरहेको र छिट्टै पूरा गरिने लक्ष्य रहेको बताइएको छ । आयोजनाको म्याद आगामी अक्टोबरसम्म छ । उक्त अवधिभित्र काम सम्पन्न गर्ने लक्ष्य आयोजना लिएको परियोजना निर्देशक ज्ञानेन्द्र कुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This